GEN-Z पुस्ताको प्रतिनिधि हिमाल घिमिरेले हालै एक विज्ञप्ति जारी गर्दै सरकारले गरेको दमन र निर्दोष विद्यार्थीहरूको हत्या देखेर आफू गहिरो पीडित र आक्रोशित भएको बताएका छन्। उनले तानाशाही प्रवृत्ति र आम नागरिकमाथिको अमानवीय व्यवहारले आफू निराश बनेको उल्लेख गर्दै, कुनै पद वा जिम्मेवारीमा नरही स्वतन्त्र नागरिकको रूपमा देश र जनताको पक्षमा आवाज उठाउने घोषणा पहिले नै गरिसकेको स्पष्ट पारे।

अफवाहप्रति खण्डन
उनले हाल केही व्यक्तिहरूले आफ्नो निर्णयलाई गलत व्याख्या गर्दै “पार्टी छोड्यो”, “स्वार्थका लागि भाग्यो”, वा “झोले” भन्ने जस्ता अपमानजनक शब्द प्रयोग गरेकोमा दुःख प्रकट गरे। घिमिरेका अनुसार, आफ्नो लक्ष्य व्यक्तिगत लाभ वा स्वार्थ नभई विद्यार्थी, जनता र राष्ट्रकै हितमा आवाज बुलन्द गर्नु हो। यसरी गरिएका आरोपहरूले आफूलाई चोट पुर्याए पनि आफ्नो प्रतिबद्धता कहिल्यै विचलित नहुने उनले दोहोर्याए।
एमालेप्रति आस्था यथावत्
घिमिरेले नेकपा (एमाले) र यसको भ्रातृ संगठनप्रति आफ्नो आस्था अझै उतिकै दृढ रहेको बताएका छन्। उनले दबाब वा प्रभावमा नपरी, सच्चा कार्यकर्ता र देशप्रेमी नागरिकको हैसियतमा पार्टीभित्रै रही जनताको पक्षमा निरन्तर काम गर्ने अठोट व्यक्त गरे।



