विवेक कुमार महतो, गौशाला । महोत्तरीको रामगोपालपुरमा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
साउन १९ गते बिहान ५:४५ बजे विशेष सूचनाको आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास टोली र रामगोपालपुर प्रहरीको संयुक्त अपरेशनमा ना.६ ख २९१९ नम्बरको ट्रक रोकेर जाँच गर्दा १० बोरा सेतो बोरामा राखिएको ४.६५ क्विन्टल गाँजा फेला परेको हो ।
ट्रक चालक २६ वर्षीय मानबहादुर मुक्तान (राक्सिराङ–४, मकवानपुर)लाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाइएको प्रहरीले जनाएको छ ।




