सप्तरी — सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घर आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पुगेर शोक व्यक्त गर्नुभएको छ।
मुख्यमन्त्री सिंहले मृतक यादवको घर तथा घटनास्थलमा पुगेर शोकाकुल परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाको विस्तृत जानकारी लिनुभयो।
स्वर्गीय यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्नुभयो।
मुख्यमन्त्री सिंहले घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिन कार्य तीव्र रूपमा अघि बढिरहेको र सत्य तथ्य चाँडै सार्वजनिक हुनेमा विश्वास व्यक्त गर्नुभयो।
लालु यादव, जो स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुनुहुन्थ्यो, गत साउन २० गते राति सप्तरी प्रहरीले तस्करी नियन्त्रणको नाममा गोली चलाउँदा मृत्यु भएका थिए।




