सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ११ मा अवस्थित सनराइज इङ्लिस बोर्डिङ स्कुलले आउँदो कृष्ण जन्माष्टमीको अवसरमा आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विशेष कार्यक्रम आयोजना गर्यो। विद्यालयमा आयोजित यस कार्यक्रमलाई भव्य र सांस्कृतिक माहोलमा सम्पन्न गरिएको थियो, जसमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरूको उत्साहपूर्ण सहभागिता रह्यो।
कार्यक्रमको विशेष आकर्षण बाल कक्षाका भाइबहिनीहरू रहे, जसले भगवान कृष्ण र राधाको पोशाकमा सजिएर मनमोहक नक्कल प्रस्तुत गरे। यस किसिमको प्रस्तुति मार्फत विद्यार्थीहरूले हिन्दू धर्मको महत्वपूर्ण पर्वबारे प्रत्यक्ष अनुभव गर्ने अवसर पाए। विद्यालयले शैक्षिक ज्ञानसँगै सांस्कृतिक चेतना पनि विद्यार्थीमा विकास गर्ने उद्देश्यका साथ यस्तो कार्यक्रम गर्दै आएको हो।

विद्यालयका प्रधानाध्यापक कृष्ण यादवज्यूका अनुसार, “हामीले विद्यार्थीहरूलाई किताबको ज्ञान मात्र होइन, हाम्रो संस्कार र संस्कृति पनि सिकाउनुपर्छ र हामी निरन्तर सिकाइरहेका छौँ।” उहाँले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा धार्मिक, सांस्कृतिक र नैतिक मूल्यहरूको विकास हुनेमा विश्वास व्यक्त गर्नुभयो। विद्यालयको यो प्रयासले भावी पुस्तामा आफ्नो परम्परा र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





