रौतहट — रौतहटको माधवनारायण–६ माधोपुरकी ३० वर्षीया रुबी साहको हत्या आरोपमा बुधबार बिहान लक्ष्मण पासवान पक्राउ परे । तीनै लक्ष्मण १४ वर्षअघि रुबीलाई अपहरण गरेकै आरोपमा पक्राउ परेको खुलेको छ ।
प्रहरीका अनुसार उनी त्यतिबेलै अपहरण तथा शारीरिक बन्धक, मानव बेचबिखनमा मुद्दामा १७ दिन हिरासत बसेको खुलेको छ । लक्ष्मणले रुबीलाई १४ वर्षको उमेरमा भगाएर भारत लगेका थिए । त्यसपछि रुबीको परिवारले लक्ष्मणसहित ३ जनाविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए ।
माधवनारायण–६ माधोपुरस्थित घरबाट २०६८ पुस २४ गते साँझ रुबी बेपत्ता भएकी थिइन् । परिवारका सदस्यले खोजतलास गर्दा फेला परिनन् । छिमेकी लक्ष्मण पासवानसमेतले घर छाडेको थाहा पाएपछि ध्यान उतै केन्द्रित भयो ।
भोलिपल्ट जिल्ला प्रहरी कार्यालय गौरमा लक्ष्मण, उनका काका बैजनाथ हजरा र भिनाजु खजान्ची पासवानविरुद्ध रुबीका परिवारले अपरहण तथा शरीर बन्धक, मानव बेचबिखन कसुरमा जाहेरी दर्ता गराएका थिए । लक्ष्मणले रुबीलाई अपरण गरी भारतको चण्डिगढमा राखेको परिवारको आरोप थियो । दुवै भारत बसेर केही समयपछि सर्लाही जिल्ला अदालत गई २०६९ साउन १५ गते फर्जी कागज बनाएर विवाह दर्ता गराएका थिए । त्यसपछि रौतहट आएका बेला लक्ष्मण पक्राउ परेका थिए । त्यस बेला रुबीको उमेर १४ वर्षको मात्र रहेको आमा मिथलेस देवीले बताइन् ।
प्रहरीले लक्ष्मणलाई पक्राउ गरेपछि रुबीलाई परिवारको जिम्मा लगाइएको थियो । १७ दिन प्रहरी हिरासतमा बसेपछि लक्ष्मण १५ हजार धरौटी तिरेर अदालतबाट छुटेका थिए । त्यस बेला काका र भिनाजु भने फरार थिए । अदालतमा मुद्दा चल्दै गर्दा भारतको मुजफ्फरपुरस्थित रोक्साटोलका शिवसागर साहसँग रुबीको विवाह भयो । रुबीका ४ वर्षीय छोरा छन् ।
झन्डै २ वर्ष मुद्दा खेपेका लक्ष्मणलाई २०७१ मंसिर २५ गते अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको एकल इजलासले सफाइ दिएको अदालतका श्रेस्तेदार उपसचिव केशर अर्यालले जानकारी दिए । अदालतबाट सफाइ पाएपछि पासवान दुई वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । रुबीको हत्या गर्नुभन्दा डेढ साताअघि मात्र लक्ष्मण मलेसियाबाट आई गौरमा डेरा लिई बसेका थिए । पछिल्लो समय उनले रुबीको हत्या गर्ने योजना बुनेको हुन सक्ने प्रहरीको भनाइ छ ।

गत शनिबार राति रुबीको हत्या गरी पासवानले सुटकेसमा राखेर गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक छाडेर भागेका थिए । उनको खोजी गर्ने क्रममा माधोपुरमै बुधबार बिहान शरीरमा आगो लगाएर गम्भीर घाइते अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । आत्महत्याको प्रयास गर्दा लक्ष्मणको अनुहार र शरीर जलेको छ । प्रहरीका अनुसार लक्ष्मण बोल्न सक्ने अवस्थामा छन् । अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल उनको उपचार भइरहेको छ ।
आफैंलाई आगो लगाउनुअघि पासवानले ९ मिनेटको भिडियो बनाएका थिए । भिडियोमा उनले रुबीको हत्या गरेदेखि नै आफ्नो हात काँपिरहेको बताएका छन् ।
रुबीको हत्या स्वीकार्दै उनले भनेका छन्, ‘मेरो जान मरिसकेकी छन् । म बाँचेर के गर्नु । पक्राउ परे जेल जानुपर्छ । १०/१५ वर्ष सजाय भोग्नुपर्छ । सजाय भोग्न तयार छु ।’ स्कुल पढ्दादेखि नै रुबीसँग आफ्नो गहिरो प्रेम बसेको लक्ष्मणले बताएका छन् ।
समाचार स्रोत : कान्तिपुर




