गौशाला | महोत्तरीको गौशाला नगरपालिका अन्तर्गत रहेको गौशाला बहुमुखी क्याम्पस सञ्चालनमा आर्थिक सहयोग पुर्याउने उद्देश्यले शिक्षकहरूले सराहनीय पहल गरेका छन् ।
क्याम्पस सञ्चालनमा सहजता ल्याउनका लागि संजय कुमार विमल, श्रवण कुमार महतो, गजेन्द्र महतो, राजन महतो, रामपुकार महतो, विमल कुमार यादव, संजिव चौधरी र जुडीलाल महतोले आफ्नै दुई महिनाको तलब नगरपालिकामार्फत क्याम्पसलाई उपलब्ध गराएका छन् ।
शिक्षकहरूको यस सहयोगप्रति गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले हार्दिक धन्यवाद व्यक्त गर्दै भने, “तपाईंहरूको यो उल्लेखनीय योगदानले क्याम्पसको निरन्तरता र शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुगेको छ।”
नगरप्रमुख महतोले क्याम्पसप्रतिको यस आत्मीयता र समर्पणलाई शिक्षा क्षेत्रप्रति उदाहरणीय योगदानको रूपमा व्याख्या गर्दै, नगरपालिकाको तर्फबाट गहिरो कृतज्ञता र प्रशंसा व्यक्त गरेका छन्।




