काठमाडौँ, असोज ३१ गते । आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सामाओलाई २१२ रनको विजयी लक्ष्य दिएको छ।
ओमानको अल अमेरत क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेख र दिपेन्द्र सिंह ऐरीको अर्धशतकीय पारीसहित २११ रन बनाएको छ। नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको हो।
नेपालका लागि आफिस शेख र कुशल भुर्तेलले पहिलो विकेटको लागि ६३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै क्याच आउट भएका थिए।
कुशल भुर्तेलले १७ रन बनाउँदा तेस्रो क्रममा आएका दिपेन्द्र सिंह ऐरीले पनि अर्धशतकीय पारी खेले। उनले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गरेर ५३ रन बनाए। आरिफ शेखले ९ ले बनाए। रोहित पौडेल २१ र लोकेश बम ३९ रनमा अपराजित रहे।
सामाओका लागि डेनिअल बुरगेस, साउमानी तिआइ,दरिउस विसर र नोआ मिडले १–१ विकेट लिए। आजको खेलमा नेपालले सामाओलाई पराजित गरेमा नेपालले प्रतियोगितामा अपराजित रहँदै उपाधि जित्नेछ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई १ रन, दोस्रो खेलमा कतारलाई ५ रन र तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको थियो। सामाओले भने सुपर सिक्सको तीनै खेलमा हार बेहोरेको छ। एसिया र पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटबाट नेपाल, ओमान र यूएईले विश्वकपमा स्थान बनाइसकेका छन्।




