काठमाडौँ, कात्तिक ७ गते । छिमेकमा तिहारको रमझम चल्दैथियो, तर काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित आयुष अमात्यको घरमा भने ‘भूकम्प’ जाँदै थियो। भाइटिकाको अघिल्लो दिन आयुषको घरको जग नै थर्किने गरी डोजर चलिरहेको थियो।
‘भिरालोमा बनेको घर त्यही पर्खाल लगाएर थामिएको थियो। पर्खाल खसाल्न हठात् अन्धाधुन्ध डोजर चलाइयो,’ दुखेसो पोख्दै उनले भने, ‘अहिले घर चिरै चिरा परेको छ। अरूले यो बेला तिहार मनाएँ, हामीले डेरा खोज्दै हिँड्नुपरेको छ।’
इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजका संस्थापक एवं सिइओ योगेश उप्रेती नेतृत्वको टोलीले तिहारको समयमै आफ्नो परिवारलाई त्रसित हुने गरी घरको पर्खालमा डोजर चलाएको अमात्यको आरोप छ।
तिहारको बेला यसरी डोजर चल्नुमा जग्गा विवादको विषय कारण बनाएको उनले बताए। ‘जग्गाको विवाद अदालतमा विचाराधीन छ। उहाँहरूले काठमाडौं महानगरपालिकाको न्यायिक समितिबाट आफ्नो पक्षमा निर्णय ल्याएपछि हामी जिल्ला अदालतमा पुनरावेदनमा छौँ,’ उनले भने, ‘जिल्ला अदालतले मुद्दा अझैँ टुङ्ग्याएकै छैन। तर अहिले नै तिहारको लामो बिदाको मौका छोपेर हाम्रो घरै भत्किने गरी पर्खाल भत्काइयो।’
के हो जग्गा विवाद?
अमात्यका अनुसार विवादको कारण बुझ्न झन्डै तीन दशकअघि पुग्नुपर्छ। उनले आफ्नो परिवार त्यहाँ रहेको १४१ नम्बर कित्तामा त्यसअघिदेखि नै बसोबास गरिरहेको बताए। उनका अनुसार सो जमिन उनकी आमा गंगा अमात्यको नाममा छ।
२०५२ सालमा अत्यधिक वर्षा हुँदा घरलाई सुरक्षा दिइरहेको पर्खाल भत्किएपछि साबिकको जमिन भिरालो रहेकाले त्यत्तिले नपुग्ने देखिएपछि छेउमै जोडिएको थप जग्गा समेटिएको अमात्यले स्वीकारेका छन्।
समेटिएको जग्गा कित्ता नम्बर ६३ मा पर्छ। उक्त जग्गाको धनी भद्रकाली गुठीको रहेकामा त्यसको मोही अष्टलक्ष्मी मालीले जोतभोग गरिरहेको श्रेस्ता कायम थियो।
अमात्य परिवारका अनुसार त्यो बेला अष्टलक्ष्मीको निधन भइसकेकाले उनको हक खाने छोरी पूर्णदेवी माली थिइन्। तर अष्टलक्ष्मीको नामबाट पूर्णदेवीको नाममा नामसारी भएको थिएन। त्यसैले पछि नामसारी भएर आएपछि कायम हुने गरी पूर्णदेवीसँग २०५२ साल असोज १ गते प्रति आनाको एक लाख पर्ने गरी दुई लाख ७१ हजार ८७५ रुपैयाँमा २ आना, २ पैसा ३ दाम जग्गा किनेको अमात्यले दाबी गरेका छन्।
‘पूर्णदेवीसँग त्यसरी जग्गा किनबेच गर्दा घरसारको लिखत गरी खरिद गरिएको लिएका थियौँ। त्यसपछि त्यहाँ घरको सुरक्षाका लागि पर्खाल लगाइएको थियो,’ उनले भने।
तर, पूर्णदेवी भने त्यसपछि सम्पर्कविहीन भएको अमात्य परिवारको दाबी छ। ‘उहाँले आफ्नो नाममा आइसकेपछि त्यति बेलाको कागज अनुसार कानुनबमोजिम लिखत पारित गरी हामीलाई हस्तान्तरण गर्नुपर्थ्यो, न उहाँ आउनुभयो, न हामीले सम्पर्क गर्नसक्यौं,’ अमात्यले भने। तर त्यसपछि झन्डै २८ वर्षसम्म आफ्नो भोग चलनलाई स्वीकार गरी कसैले खिचोला नगरेको पनि उनको दाबी छ।
पछि बुझ्दै जाँदा पूर्णदेवीले उक्त ६३ नं. कित्तासमेतको जग्गा आमा अष्टलक्ष्मीको नामबाट २०६५ असोज २६ गते पूर्णदेवी, कुलबहादुर विष्ट, र सन्तोष कर्माचार्यको नाममा सगोलनामा रहने गरी पारितनामा गरेको पाइएको अमात्य परिवारले जनाएको छ।
त्यसपछि तीन जनाको नाममा रहेको त्यहाँको पूरै जग्गा क्रमशः प्राइम हाउजिङ प्रालि, आइएमएस डेभलपर्स प्रालि, सगुन कन्स्ट्रक्सन विक्री र हक हस्तान्तरण सर्दै आएको देखिएको अमात्य परिवारले बतायो।
‘त्यसपछि सगुन कन्ट्रक्सनले २०८० असोज ७ मा आइएसएमटी कलेजलाई विक्री गरेको पाइएको छ,’ अमात्यले भने, ‘त्यस अघिसम्म हामीले प्रयोग गर्दै आएको जमिनमा कसैले पनि खिचोला झिकेको थिएन।’ तर, आइएसएमटी कलेजको नाममा आइसकेपछि विभिन्न कुरा सुन्न थालेपछि आफू २०८१ सालमा ६ वटा फिराद पत्र लिएर जिल्ला अदालत काठमाडौं पुगेको उनले बताए। उनले भने, ‘ती मुद्दा अहिले पनि विचाराधीन छन्।’
सगुन कन्स्ट्रक्सन किनेको ९/१० महिनापछि आइएसएमटी कलेज आफ्नो पर्खाल भत्काएर सिमाङ्कन माग्दै काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा पुगेको उनले बताए। न्यायिक समितिले २०८१ साउन ४ गते आफूसँग लिखित जवाफ मागेको बताउँदै तर १५ दिनभित्र लिखित जवाफ बुझाउन खोज्दा नबुझिदिएको उनको आरोप छ।
त्यसपछि महानगरले २०८२ वैशाख ११ गते आफ्नो पर्खाल भत्काउन निर्णय सुनाएको अमात्यको भनाई छ। ‘त्यसपछि हामीलाई पुनरावेदनको मौका समेत नदिई वैशाखकै २१ गते निर्णय कार्यान्वयन गर्न भनेर पत्र हामीलाई आयो। त्यस विरुद्ध पनि हामी निषेधाज्ञा लिएर उच्च अदालत र निर्णय बदरको माग लिएर जिल्ला अदालतमा गएका छौँ,’ अमात्यले भने।
‘बिदाको मौका छोपेर डोजर’
काठमाडौं महानगरको न्यायिक समितिको निर्णयविरुद्ध आफू जिल्ला अदालत गएको अवस्थामा माथिल्लो अदालतले मुद्दाको छिनोफानो नै नगरी तिहारको समय पारेर पर्खाल भत्काइएको छ।
‘कार्यालय र अदालत खुलेका बेला निषेधाज्ञा ल्याउँछन् भनेर बिदाको मौका छोपेर घर नै चर्किने गरी पर्खाल भत्काइयो,’ अमात्यले दुखेसो गरे, ‘यो घटनाले हाम्रो परिवार नै आतङ्कित भएको छ। हामी त यस्तो कसरी हुन्छ? सोच्न पनि सकिरहेका छैनौँ।’
तल्लो तहको अदालत वा न्यायिक इकाईले गर्ने फैसला चित्त नबुझे हरेक नागरिक माथिल्लो अदालत जाने न्यायिक हक राख्ने अमात्य परिवारका वकिल वीरेन्द्र पाठकले बताए। ‘यस्ता प्रकृतिका मुद्दामा माथिल्लो अदालतले अन्तिम किनारा नलगाएसम्म फैसला कार्यान्वयन गर्नै पर्छ भन्ने बाध्यता हुँदैन। कि विपक्षीले फैसला स्वीकारेको हुनुपर्छ। यस प्रकारको गतिविधि कम्तीमा कानुनी राज भएको समुदायमा अपेक्षा गरिन्न,’ उनले भने।
‘दुई पटक प्रहरीले रोक्यो, तेस्रो पटक छाड्यो’
अमात्य परिवारका अनुसार आइएसएमटी कलेजका प्रतिनिधिले तिहारअघि कार्यालय खुल्ने अन्तिम दिन कात्तिक २ गते साँझ मात्रै डोजर ल्याएर पर्खाल भत्काउन आएका थिए। त्यसपछि कात्तिक ८ गतेसम्म लगातार बिदा थियो।
‘त्यहाँ डोजर देखे लगत्तै हामीले नेपाल प्रहरीलाई खबर गर्यौं। हामीले अदालतको मुद्दाको अवस्था सम्झायौँ। अदालतले अन्तिम टुंगो लगाएर हाम्रो विपक्षमा फैसला आए हामी आफै खाली गर्दिन्छौँ भनेकै छौँ,’ अमात्यले भने, ‘तर यो बिदाको दिन रोकिदिनपर्यो। तिहार त मनाउनदिनुपर्यो भनेर प्रहरीलाई भन्यौँ।’
त्यसपछि प्रहरी आएर त्यो दिन ‘कम्तीमा तिहार मनाउन दिनुस्, बिदामा यो नगर्नुस्’ भनेर रोकेको उनले बताए।
‘फेरि दोस्रो दिन त्यस्तै भयो। फेरि प्रहरीलाई भन्यौँ। प्रहरीले फेरि आएर उसै गरी रोक्यो,’ अमात्यले भने। तर चौथो दिन केही भिड नै ल्याएर भत्काउन लागेको उनले बताए।
‘उहाँहरूले महानगरको मेयर बालेनले भनेको हो। कसले रोक्छ हेर्छौँ भन्न थाल्नुभयो। प्रहरी पनि चुप लाग्यो, सायद बालेनकै मान्छे गृहमन्त्री भएर होला,’ अमात्यले अगाडि भने, ‘कोही रोक्न आउला भनेर गुन्डाजस्ता देखिने व्यक्ति पनि ल्याएका देखिन्छन्।’
यसरी भाइटिकाको अघिल्लो दिनदेखि आफ्नो घर नै भूकम्प जाने गरी तीन दिनसम्म डोजर चलाएको अमात्यले गुनासो गरे।
अमात्यको घरमा चलेको डोजरको कथा काठमाडौंका सबैजसो प्रहरी अधिकारीलाई पनि थाहा छ। तर, बोल्न कोही चाहेनन्। ‘हामीले तिहारको बेला यसो नगरौँ, कम्तीमा चाडबाड मनाउन दिऔँ,भोलि अदालतले नै टुंगो लगाइहाल्छ भनेर सुझाउन खोजेका थियौँ,’ अनौपचारिक कुराकानीमा एक प्रहरी अधिकारीले भने,‘अब महानगरको निर्णय रहेछ। महानगरकै प्रहरी पनि आएको देखियो। त्यसपछि हामी धेरै बोल्ने कुरै भएन।’
उता आइएसएमटी कलेजका संस्थापक एवं सिइओ उप्रेतीसँग यस विषयमा प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन्। तीन दिनसम्म पटक–पटक टेलिफोन र म्यासेजमार्फत सम्पर्क गर्न खोज्दा उनले कुनै प्रतिक्रिया जनाएनन्।-Nagariknews




