महोत्तरी | दाजुभाइ र दिदीबहिनीबीचको स्नेह र पारिवारिक सम्बन्धको प्रतीकका रूपमा मनाइने समाचकेवा पर्व आजदेखि मधेशका विभिन्न जिल्लाहरुमा उल्लासका साथ सुरु भएको छ ।
यस पर्वमा विशेषगरी मैथिली र थारू समुदायका महिलाहरूले माटोबाट बनाइएका “समा, चकेवा, चुगला” लगायतका पात्रहरूलाई पूजेर दाजुभाइको दीर्घायुको कामना गर्ने परम्परा रहिआएको छ । औरहीकी ब्रतालु मन्जु कुमारी यादवका अनुसार, “यस पर्वमा नारीहरूले चुगला पात्रलाई गीतमार्फत गाली गर्दै मनोरञ्जन गर्छन्, जसले समाजमा अनुचित प्रवृत्तिलाई रोक्ने सन्देश दिन्छ ।”
समाजसेवी नागेन्द्र यादवका अनुसार, समाचकेवा पर्व खरनाको रातिबाट सुरु भई कात्तिक पूर्णिमासम्म चल्ने गर्दछ । अन्तिम दिन दाजुभाइले समाचकेवा पात्रलाई घुँडामा राखी फुटाएर नदी वा पोखरीमा बिसर्जन गर्ने चलन छ । यस क्रममा दिदीबहिनीहरूले दही–चिउरा र मिठाई चढाएर पूजा–पाठ गर्छन् ।
यस पर्वले सामाजिक एकता, सहिष्णुता र दाजुभाइ–दिदीबहिनीबीचको अमिट प्रेम बलियो बनाउने विश्वास गरिएको छ ।
छठ पर्वपछि तराईमा मनाइने अन्तिम सांस्कृतिक पर्वका रूपमा समाचकेवा मधेशमा विशेष स्थान राख्दछ। स्थानीय बजारहरूमा माटाका मूर्तिहरू बिक्रीमा राखिएका छन् भने महिलाहरू आफैंले पनि ती मूर्तिहरू बनाउने परम्परा अझै जीवित छ।




