बर्दिवास, ११ कात्तिक । मालपोत कार्यालय बर्दिवासमा जग्गा, जमिनसम्वन्धि कुनै काम गराउनुछ भने तपाईले यो संकेत बुझ्न आवश्यक छ । संकेत नगर्ने नबुझ्नेकोे काम हुन निक्कै गाह्रो छ । घुस नखाई टसका मस नहुने मात्र होइन अनेकौं लफडा देखाएर सेवाग्राहीलाई हैरान पार्ने गरेका भुक्तभोगीहरू बताउँछन् ।
हातको इशारा सबैले बुझ्न थालेपछि आँखाको इशारा चलनचल्तीमा आएको एक लेखापढी व्यवसायीले बताए । उनले भने ‘पैसा नखाई कामै गर्दैनन् ।’ मालपोत कार्यालय सबै ठाउँका उस्तै हुन तर बर्दिवासजस्तो चर्को घुस रेट अन्त नभएको नाम उल्लेख नगर्ने शर्तमा एक घरजग्गा कारोवारीले बताए । उनले भने ‘बरु जलेश्वर हुँदै थोरै पैसा दिएपछि एकैदिनमा काम हुन्थ्यो ।’
बर्दिवास मालपोतमा विभिन्न फाँटका सातवटा झ्याल छन्, ती सातै वटामा सेवाग्राहीले घण्टौं लाइनमा बस्नु पर्ने हुन्छ र हरेक फाँटवालाले एक–एक वटा निहुँ बनाएर दुःख दिन्छन् । लेखापढी व्यवसायी लगायो भने आँखाको इशारामा अलि छिटो काम हुने गरेको पाइएको छ ।
तीन दाजुभाईको संयुक्त नाममा रहेको जमिन अदालतको मिलापत्र आदेश बमोजिम अलग–अलग गर्न घुस दिएर पनि चार दिन लागेको बर्दिवास –८ की रञ्जु काफ्लेले बताइन् । ‘झ्यालै पिच्छे कागज लिएर सेवाग्राहीनै जानु पर्ने कस्तो सिस्टम हो ?’ उनले भनिन् । ‘कागज लिएर कर्मचारीको अगाडि उभिएको घण्टा वित्दा पनि ती कर्मचारी कहिले फोनमा त कहिले अन्य सेवाग्राहीलाई हप्कीदप्की लगाउन व्यस्त भए, मेरो कागज हेर्दा पनि हेरेनन्’ उनले भनिन् ‘ एकजना चिनेका लेखापढी व्यवसायी आएर सोधे–तपाई अहिले सम्म यही उभिएको हुनुहुन्छ ? कोठा वाहिर ल्याएर उनले भने, यहाँ यसरी हुँदैन आँखा झिम्क्याउनु पर्छ । अनि मैले कागज उनैलाई दिएर भने –त्यसोभए तपाईनै झिम्क्याई दिनोस् ।’
उनकाअनुसार एउटा आँखा एकपटक झिम्क्याए पाँच सय, दुईपटक झिम्क्याए हजार र दुइटा आँखा एकैपटक झिम्क्याए १० हजार अनि दुइटै आँखा दुई पटक झिम्क्याए २० हजार बुझ्ने गरिन्छ । तीन जना दाजुभाईको संयुक्त नाममा रहेको जग्गा अदालतको आदेशबमोजिम दाखिल खारेज गर्न दुई दिन भरीमामा पनि काम नभएपछि आफूले १० हजार कबुल गरेको उनले बताइन् ।
केही दिनअघि आफूले पनि यस्तै सास्ती भोगेको बर्दिवास –१० की प्रियंका यादवले बताइन् । उनकाअनुसार एसबिआई बैंकको नाममा दृष्टीवन्धक रोक्का गर्न बैंकको पत्रसहित मालपोत कार्यालय बर्दिवासमा पुग्दा कामै नहोला कि भन्ने स्थिति भयो । जेन्जी आन्दोलन अघि उनले यस वारे टिकटक पनि बनाएको बताइन् । बैंकको नाममा जग्गा रोक्का राख्न जाँदा बैंकको पत्रमा सो जग्गामा बनेका र भविश्यमा बन्ने सबै संरचनासमेत भन्ने शब्द उल्लेख थियो । मालपोतको मोठ फाँटका महतो थरका एक कर्मचारीले यसैलाई निहुँ बनाएर लफडा झिकेको यादवले बताइन् । आफूसंग ती कर्मचारीले लेखापढी व्यवसायी मार्फत १० हजारको अफर गरेको उनको दावी छ । तर आफूले बैंकलाईनै अनुरोध गरेर पत्रमा एकलाइन काटन लगाएर दुई दिन लगाएर काम सकेको बताइन् ।
यी मात्र होइन बर्दिवास मालपोतमा अनेकौं विकृति छन् । नागरिक वडापत्र नाम मात्रको छ । त्यसमा कुन काममा कति शुल्क लाग्ने कतै उल्लेख पाइदैन । अर्को अनौठो कुरा कार्यालय ५ वजेसम्म हो तर यहाँ रहेको प्रभु बैंकको राजश्व संकलन गर्ने काउन्टर ३ वजे नै बन्द हुन्छ । यसको सोझो अर्थ हो मालपोत ३ वजेपछि अनौपचारिकरूपमा बन्द हुनु । अर्को यो प्रभु बैंकको काउन्टरमा राजश्व जति लाख भए पनि नगदै बुझाउनु पर्छ । यहाँ फोन पे, इसेवा, खल्ती वा बैंक ट्रान्सफर केही चल्दैन ।
बर्दिवासमै प्रदेशस्तरको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय छ । अख्तियारको कार्यालय र मालपोतको दुरी लगभग एक किलोमिटरको होला, उसको नजर यता पर्दैन । स्थानीय सरकारलाई सेवाग्रहीको दुःख, भैंसीका अघि संगितजस्तै भएको बताइन्छ । अहिले बर्दिवासमा आफ्नो वैधानिक कामसमेत मालपोतका कर्मचारीले घुस खाएर पनि छिटोछरितो गरिदिए भने अहोभाग्य मान्नु पर्ने स्थिति बनेकोे भुक्तभोगी सेवाग्रहीको गुनासो छ ।
समाचार स्रोत : पेन नेपाल




