काठमाडौं । सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनले थपका बारेमा अध्ययन भइरहेको बताए।
आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए । तर, कतिपयको शव अझै सनाखत हुन सकेको छैन । जलेको अवस्थामा भेटिएका शवको सनाखत हुन नसकेको हो ।
जेलबाट भाग्न खोज्ने क्रममा गोली लागेर १० कैदीको मृत्यु भएको थियो । उनीहरूको नाम सहिदको सूचीमा छैन । केही भारतीयको पनि मृत्यु भएको छ । उनीहरूको नाम पनि सूचीमा राखिएको छैन ।
सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै सहिद घोषणा गर्ने नीतिगत निर्णय गरेपनि औपचारिक रूपमा निर्णय गरेर राजत्रपमा प्रकाशित गरेपछि मात्र त्यो कार्यान्वयन हुन्छ ।
बैठकका निर्णय सुनाउँदै खरेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ स्वीकृत गरेको बताए ।
त्यस्तै विपद् संकटग्रस्त जिल्ला घोषणा इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने रकम पाँच करोड ३० लाख विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता घनश्याम ओझालाई तोकेको छ।




