राजकरण महतो
बर्दिवास ,चैत २१ गते ।
महोत्तरीको बर्दिबास राजमार्गमा जब एउटा अटो रिक्सा आत्मविश्वासका साथ गुड्छ, धेरैको नजर एकाएक त्यतातिर पर्छ । कतिले छक्क परेर हेरिरहन्छन्, कतिले भने गर्वका साथ भन्छन्, ‘हिम्मतवाली हुनुहुँदो रहेछ !’ त्यही हिम्मतवाली चालक हुन् लक्ष्मी अधिकारी । उनी बर्दिबास नगरपालिका–३, गौरीडाँडाकी बासिन्दा हुन् ।
चार वर्षदेखि अटो चलाउँदै आएकी लक्ष्मी अहिले बर्दिबासका तीन महिला अटो चलाउने मध्य एक एक हुन् । साईकल चलाउन नजान्ने लक्ष्मीले अटो चलाउन सिकेर महिनाको ५० हजार कमाएको सुनाउँदा जो कोही तीन छक्क छन् । ‘म त साइकल नै नसिकेको मान्छे । तर हिम्मत जुटाएर अटो किनें, चलाएँ, अनि आज महिनामा करिब ५० हजार कमाउँछु ,’ लक्ष्मी गर्वका साथ सुनाउँछिन् ।
कुरो चार वर्ष अघिको हो । छोरोले स्कूल जान कपी र कलम किन्न पैसा मागे । लक्ष्मीसंग हातमै रुपैयाँ भएन । उनी त्यो क्षण सम्झेर र चार वर्ष अघि खुब रोइन् । त्यसपछि उनले अब केही न केही आफैले गर्नु पर्छ भनेर अटो किन्ने र चलाउने निर्णय लिइन् । तर, उनलाई अटो कसरी किन्ने र कसरी चलाउने जानकारी पठक्कै थिएन । अरुको सहयोग लिदैं, हिम्मत जुटाउँदै अटो सिकिन् । अन्तः लाइसेन्स नै बनाइन् । अटो किनेपछि तीन महिनामै उनले बर्दिबासमै ट्रायल पास गरेर लाइसेन्स निकालेकी थिइन् । त्यो देखेर चिनजानका धेरै मानिस दङ्ग परेका थिए ।
‘बाबुलाई स्कुल पठाउँदै गर्दा मलाई धेरै पीडा हुन्थ्यो । खाटमा घोप्टे परेर कति रोएँ । एउटा डटपेन किन्न पैसा दिन सकिनँ’ उनी सम्झिन्छिन्, ‘अहिले त्यो दिन एकादेशको कथा जस्तो भयो । अब त मासु र भात खान कुनै समस्या छैन । सहकारीमा घरखर्च चलाएर बचत गर्न पनि पुगेको छ ।’
अहिले लक्ष्मी बर्दिबासको पाँच सय अटो चालक मध्य हिम्मतवली अटो चालकको पहिचान बनाएकी छिन् । यो लक्ष्मीको जीवन संघर्षको लोभ कथा अरुका लागि प्रेरणादाी कथा बन्न पुगेको उनकी छिमेकी पवित्रा गौतमले सुनाइन् । उनले भनिन्, ‘एउटा महिलाले हिम्मत जुटायो र समाजको सहयोग पायो भने जस्तो पनि कठिन काम गर्न सक्छन् भन्ने उदाहरण हुन् हाम्री लक्ष्मी ।’
लक्ष्मीका श्रीमान् परिवार चलाउन खाडीमा पसिना बगाइरहेका छन् । त्यहाँको कमाई सन्तानको पढाई, दवाई र घर खर्च जुटाउन लक्ष्मीलाई समस्या परिरहन्थ्याे । अनि उनले आँट गरेर श्रीमान् ले विदेशबाट कमाएर पठाएको रकम दिएर कित्ताबन्दीमा अटो किनेकी थिइन् । जीवनमा गर्न सकिन्छ भनेर अठौट लिने हो भने जो कोही पनि सफल बन्ने उनको अनुभव छ ।‘मरे मरिन्छ, बाँचे बाँचिन्छ भनेर काम सुरु गरेँ,’ उनी खुशी हुँदै सुनाउँछिन्, ‘हिम्मतले चलाएको अटोले आत्मविश्वास बढायो । आत्मविश्वासले जीन्दगी खुसहाल बन्यो ।’
अटोको सबै किस्ता तिरेर उनले कम्पनीबाट आफ्नो नाममा नामसारी गराइसकेकी छिन् । लक्ष्मीले आफ्नो कमाइबाट खुत्रुकेमा पैसा जम्मा गर्दै दुई वर्षमै किस्ता चुक्ता गरेकी थिइन् । अहिले उनी नियमित बचत गर्छिन् । ‘महिनामा केही नभए पनि ३०–३५ हजार बचत गर्छु,’ लक्ष्मी भन्छिन् ।
बचत सहकारीमा बुझाउने बानीले उनलाई आत्मविश्वासी बनाएको छ । घरको कामदेखि सडकसम्म लक्ष्मीको दैनिक चलेको छ । लक्ष्मीको दिन बिहानै सुरु हुन्छ । उनी बिहान ६ बजे उठेर घरधन्दा गर्छिन् । छोराछोरीलाई खाना खुवाएर स्कुल पठाउँछिन् । त्यसपछि ९ बजे काममा निस्किन्छिन् । बेलुका ५–६ बजे घर फर्किएपछि फेरि खाना बनाउने र परिवार सम्हाल्ने जिम्मेवारी हुन्छ उनको ।
‘काम धेरै छ, तर आफ्नै कमाइ हुँदा मन खुसी हुन्छ,’ उनी मुस्कुराउँदै भन्छिन् । लक्ष्मी अधिकारीको कथा केवल कमाइको मात्र होइन, आत्मनिर्भरता र साहसको उदाहरण रहेको एभरेष्ट डेरी एण्ड स्वीटहाउसका सञ्चालक सुरेन्द्रराज लामा बताउँछन् । ‘छोरी मान्छेले कसैको आशा भरोसा गरेर बस्नु पर्दैन । आफ्नो काम आफैँ गरौँ,’ उनी भन्छन् ।




