
काठमाडौं : निर्वाचन आयोगले जिल्ला-जिल्लामा मतपत्र छापेर ढुवानी गरिरहेको छ। आयोगले यही वैशाख १३ गतेबाट मतपत्र छापेर ढुवानी सुरु गरेको हो। आयोगले यस पटक मतपत्रमा हरियो रंगको चुनाव चिन्ह छापेको जनाएको छ।
०७४ को स्थानीय तह निर्वाचनको मतपत्रमा चुनाव चिन्ह र स्वस्तिक छाप निलै रंगका थिए। दुवैमा नीलो रंगको प्रयोगले मतगणनामा समस्या आएको भन्दै यसपटक चुनाव चिन्हको रंग फेर्ने निर्णय भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले चुनाव चिन्हको रंग हरियो बनाउने भनी गरेको निर्णयप्रति प्रतिपक्ष दल एमालेले आपत्ति जनाएको थियो। तर, आयोगले भने कुनै राजनीतिक कारण नभई प्राविधिक कारणवश रंग फेर्नुपरेको बताएको छ।
पठाइएका मतपत्र वैशाख २६ गतेसम्म सबै मतदान केन्द्रसम्म पुगिसक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताएका छन्। निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र चाहिने निर्वाचन आयोगले जनाएको छ। महानगरपालिका र केही उपमहानगरपालिकाको मत पत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि छापिने आयोगले जनाएको छ।
तपाईंको जिल्लाको जिल्लाको नमूना मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्