
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–१, स्थित मुक्तेश्वर सामुदायिक वनमा शनिबार धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।
मुक्तेश्वर सामुदायिक वन क्षेत्रभित्र पर्ने बागमती सिँचाईको नहरमा रौतहटको गुजरा नगरपालिका ५ बस्ने अन्दाजी ३१ वर्षीय विष्णुसिंह घिसिङको हत्या भएको हो । घिसिङको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढथोकीले उज्यालो अभियानसँग बताए ।
मृतकको शव घटनास्थलबाट भर्खरै (शनिबार राती १० बजे) पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । घिसिङ रौतहटबाट मूर्तियास्थित आफन्तको घरमा आएको भन्ने खुलेपनि विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ ।
सर्लाही प्रहरीका प्रमुख (एसपी) प्रविण पोखरेलले घटनास्थलमा जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाइएको बताए । उनले घटनामा संलग्न रहेको हुन सक्ने आशंकामा केही व्यक्तिविरुद्ध प्रहरीले निगरानी बढाइसकेको बताएका छन् ।
घटनास्थल आपराधिक घटना भइरहने क्षेत्रको रुपमा पर्छ ।