
रौतहट । मधेश प्रदेशको रौतहट जिल्लास्थित प्रत्येक बर्ष आयोजना हुँदै आएको मधानी महायज्ञमा यसपाली खेसारीलाल यादव र टिकटोकरको टिममाथि चप्पल, जुत्ता र ढुँगामुढा प्रहार गरिएको छ ।
रौतहट जिल्लाको मौलापुर स्थित पुरातात्त्विक महादेव मन्दिर प्राङ्गणमा आयोजना गरिएको मधानी महायज्ञ २०७८ मा मनोरञ्जनात्मक कार्यक्रम गर्नको लागि अश्लिल गीतहरुले विवादमा रहँदै आएको खेसारी लाल यादवको टिम सहित टिकटकरहरुमाथि ढुँगामुढा गरेपछि समान्य झडप भएको थियो ।
मधानी महायज्ञको उदघाटनको लागि पूर्व प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा सहभागी हुने बताइएपनि केपी ओली सो कार्यक्रममा भने गएनन् ।
केपी ओलीकै प्रतिक्षामा रहेका आयोजकले खेसारीलाल यादवको कार्यक्रममा टिकटोकरहरुलाई स्टेजमा चढाएपछि असन्तुष्ट दर्शकहरुले उनीहरुलाई स्टेजबाट तल झार्न आवाज लगाएको थियो ।
तर, आयोजकले टिकटोकरहरुलाई स्टेजबाट तल नझारेपछि आक्रोसित दर्शकहरुले उनीहरुमाथि ढुँगामुढा गर्न थालेपछि केही बेर समान्य झडप भएको थियो । सो क्रममा एक दर्शक बेहोस भएर भुँईमा लडेपछि केही बेर कार्यक्रममा रोकिएको थियो ।
खेसारी लाल यादवभन्दा पनि नेपाली सिने जगतका महानायक एमव् मेगास्टार राजेश हमाललाई हेर्नको लागि अधिक भीड जम्मा भएको थियो । मधानी महायज्ञमा राजनीतिक दलका कार्यकर्ताहरुलाई उर्दी गरी कार्यक्रममा उतारेको समेत बुझिएको छ ।
मौलापुर नगरपालिकाको आयोजनामा भएको मधानी महायज्ञको नाममा प्रत्येक बर्ष मोटो सरकारी रकम खर्च गरी बिहारबाट कलाकारहरुलाई मगाउने गरिन्छ । यसपाली तेस्रो दर्जाका कलाकारहरुलाई समेत स्टेजमा उतारेपछि दर्शकहरु असन्तुष्ट देखिएको थियो ।
एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथि रहने गरी कार्यक्रम आयोजना गरिएकोमा केपी ओली भने सो कार्यक्रममा आएनन् । पूर्व माओवादीका नेताहरु स्टेजमा देखिएको थियो ।
समान्य झडपको सन्दर्भमा रौतहटका एसपीले त्यस्तो केही पनि नभएको प्रतिक्रिया दिएका छन् भने पूर्व माओवादीका नेता (हाल एमाले) प्रभु साहले मधानी महोत्सव सफल पूर्वक सम्पन्न भएको फेसबुक मार्फत दाबी गरेका छन् ।
यसपाली मधानी महायज्ञमा खेसारीलाल यादवको नाच टिम, टिकटकरहरुको नाच टिमले नाच गरेको थियो । यसअघि आयोजकलाई धार्मिक कार्यक्रमहरु मात्र गर्न सुझाएको थियो । स्रोत : न्यूज ब्यूरो