महोत्तरी, औरही :- बडादशैँको घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई मन्दिर परिसरमा यतिबेला विशेष धार्मिक उत्साह छाएको छ। विश्व शान्ति, मानव कल्याण र सामाजिक सद्भावको सङ्कल्पसहित निकालिएको दोस्रो ऐतिहासिक कलश शोभायात्रामा ५ हजारभन्दा बढी श्रद्धालुको घुइँचो लागेसँगै यस क्षेत्रको धार्मिक गरिमा थप उचाइमा पुगेको हो।

औरही नगरपालिका–२ फूलबरियास्थित जंघाहा खोला (बेतो, पचाइन र जङ्गा खोलाको सङ्गमस्थल) बाट पवित्र जल भरेर सुरु भएको यो भव्य यात्रा सोनामाई मन्दिरमा पुगेर समापन भएको थियो। गत वर्ष (२०८२ साल) पहिलो पटक करिब ४ हजार कलशबाट सुरु गरिएको यस परम्पराले यस वर्ष झनै व्यापक रूप लिएको आयोजकले जनाएको छ। यात्रामा महिला, बालबालिका, वृद्धवृद्धादेखि स्थानीय समाजसेवी, धार्मिक अगुवा र सुरक्षाकर्मीसम्मको स्वतःस्फूर्त सहभागिता रहेको थियो।

कलश यात्राको औपचारिक उद्घाटन औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्का, उपप्रमुख रेणु झा र विभिन्न वडाका अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए। यस अवसरमा बोल्दै नगरप्रमुख खड्काले सोनामाई मन्दिर समग्र नगरवासीको आस्था र धरोहरको प्रमुख केन्द्र रहेको बताए। उनले यस्ता धार्मिक अनुष्ठानले नगरवासीबीचको एकतालाई बलियो बनाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षण र इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे।

घटस्थापनाकै दिन निकालिएको यस विशाल शोभायात्राले औरही र आसपासका क्षेत्रलाई पूर्ण रूपमा उल्लासमय र भक्तिमय बनाएको छ। कलश यात्राको यो भव्यतासँगै अब सोनामाई मन्दिरमा लाग्ने प्रसिद्ध ‘भूत मेला’मा यस वर्ष लाखौँ भक्तजनको आगमन हुने अनुमान गरिएको छ। नगरपालिका र स्थानीयको संयुक्त पहलले यस क्षेत्रको धार्मिक पर्यटनलाई समेत टेवा पुर्याउने देखिन्छ।


