महोत्तरी :महोत्तरीको गौशालामा भक्तजनले सोमबार हर्षोल्लासका साथ माता दुर्गाको प्रतिमा विसर्जन गरेका छन्। जयजयकारसहित नाचगान गर्दै भक्तजनले नगर परिक्रमा गराएपछि विभिन्न पोखरीमा दुर्गा प्रतिमा विसर्जन गरेका हुन्।
अन्य स्थानमा विजयादशमीकै दिन दुर्गा प्रतिमा विसर्जन गर्ने परम्परा रहे पनि गौशालामा भने प्रत्येक वर्षझैँ यस वर्ष पनि कोजाग्रत पूर्णिमाका दिन प्रतिमा विसर्जन गरिएको हो।

गौशाला नगरपालिका–स्थित गौशाला बजार र निगौल चोकमा आयोजना गरिएको दुर्गा पूजामा यस क्षेत्रका साथै आसपासका गाउँ तथा नगरबाट समेत हजारौँ श्रद्धालु सहभागी भएका थिए। दुवै स्थानमा स्थापना गरिएका माता दुर्गाका प्रतिमालाई सोमबार नगर परिक्रमा गराएर धार्मिक विधिपूर्वक जलाशयमा विसर्जन गरिएको हो।

गौशाला बजारमा स्थापना गरिएको दुर्गा प्रतिमालाई गौशाला नगरपालिका–४ स्थित रजखोरको मलहनिया पोखरीमा विसर्जन गरिएको छ भने गौशाला नगरपालिका–२ को निगौल चोकमा स्थापना गरिएको प्रतिमालाई सोही वडास्थित निगौल ठाकुर पोखरीमा विसर्जन गरिएको छ।
गौशाला नगरपालिका–१० निवासी मानिकलाल महतोका अनुसार गौशालामा दुर्गा प्रतिमा विसर्जन धार्मिक आस्था र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा मनाइँदै आएको छ। दुर्गा पूजा पूजापाठमा मात्र सीमित नरही स्थानीय एकता, परम्परा र आपसी सद्भाव अभिव्यक्त गर्ने पर्वका रूपमा स्थापित भएको उहाँले बताउनुभयो।

“प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन हुने प्रतिमा विसर्जनमा स्थानीयवासीका साथै वरपरका गाउँ तथा नगरबाट समेत हजारौँ श्रद्धालु सहभागी हुन्छन्,” उहाँले भन्नुभयो।उहाँका अनुसार यस वर्षको विसर्जन कार्यक्रम पनि शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। दुर्गा पूजासँगै आयोजना हुने मेला तथा धार्मिक गतिविधिले स्थानीय क्षेत्रमा चहलपहल बढाउनुका साथै सामाजिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने गरेको छ।

गौशालामा कोजाग्रत पूर्णिमाका दिन दुर्गा प्रतिमा विसर्जन गर्ने परम्पराले यहाँको धार्मिक तथा सांस्कृतिक विशिष्टतालाई उजागर गर्दै आएको छ।
























