
काठमाडौं । भारतीय सेनाको भटिण्डा मिलिटरी स्टेसनमा गोली प्रहार गरेको आरोपमा एक जवान पक्राउ परेका छन् । यस गोलीबारीमा चार सैनिकको मृत्यु भएको थियो। त्यसयता प्रहरीले आक्रमण गर्ने जवानको खोजी गरिरहेको थियो । तर, प्रहरीले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन । प्रहरीले १२ बजे पत्रकार सम्मेलन गरेर यसबारे खुलासा गर्न सक्ने बताइएको छ ।
बुधबार बिहान ४.३५ बजे पञ्जाबको भटिंडा मिलिटरी स्टेसनको मेसमा गोली चलेको थियो । जसमा चार सैनिकको मृत्यु भएको थियो । सबै जवानहरू ८० मिडियम रेजिमेन्टका थिए। गोली प्रहार गर्ने व्यक्ति अँध्यारोको फाइदा उठाउँदै गोली प्रहार गरेको ठाउँबाट भाग्न सफल भएका थिए । त्यसयता सुरक्षा निकाय घटनाको अनुसन्धानमा जुटेका थिए ।
पुलिसले यो आतंकवादी हमला नभएको स्पष्ट गरिसकेको छ। यो सैनिकहरू बीचको आपसी विवादको विषय थियो। प्रहरीले यस विषयमा आइतबार चारजना जवानसँग सोधपुछ गरेको थियो । तीमध्ये एक जवान देसाई मोहन थिए। गोली चलाएर चार सैनिकको हत्या गर्ने बन्दुकधारी देसाई मोहन रहेको बताइएको छ ।
आक्रमणका क्रममा अभियुक्त जवान सिभिल ड्रेसमा थिए । एउटा इन्सास राइफल र २८ राउण्ड कारतूस सैनिक स्टेशनमा गोली हानाहान हुनु केही दिनअघि हराएका थिए । यस्तो अवस्थामा यो घटनामा सोही राइफल प्रयोग भएको आशंका गरिएको छ ।
एफआईआर रिपोर्टका अनुसार यस हमलामा चार जवान सागर, कमलेश, सन्तोष र योगेशको मृत्यु भएको थियो। प्रत्यक्षदर्शीले आक्रमणमा एक नभई दुईजना अभियुक्तको संलग्नता रहेको दाबी गरेका थिए । दुवैले अनुहार छोपेर राइफलबाहेक बञ्चरोले प्रहार गरेका थिए । घटनापछि बरामद भएका हतियारलाई फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।