काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई जागिरबाट निष्काशित गरेको भन्दै कर्मचारी युनियनले विरोध जनाएको छ । अखिल नेपाल संघसंस्था, सञ्चार तथा छापाखाना श्रमिक संघ नेपाल टेलिकम मूल इकाई समितिले निष्काशित कर्मचारीको रोजगारी निरन्तरताको माग राख्दै टेलिकम केन्द्रीय कार्यालयअघि विरोध प्रदर्शन थालेको छ ।

जागरिबाट निकालिएका कर्मचारीहरू विभिन्न आउटसोर्सिङ कम्पनीमार्फत टेलिकमको प्राविधिक सहायक रुपमा कार्यरत थिए । टेलिकमले आउटसोर्सिङ कम्पनी परिवर्तन गरेसँगै पुराना कम्पनीमार्फत टेलिकममा जोडिएकाहरूको रोजगारी गुमेको थियो ।

यसपछि ट्रेड युनियनले आउटसोर्सिङ कम्पनीको स्वामित्व परिवर्तन हुँदा पनि मुख्य रोजगारदातासँगको सम्बन्ध यथावत् रहनुपर्ने व्यवस्था कार्यान्वयन गर्न, गैरकानूनी ठेक्काबाट श्रम शोषण गर्न नपाइने, श्रमिक पक्षका सम्पूर्ण ऐन कानून पूर्ण रुपमा लागू गर्न माग राख्दै विरोध जनाएको हो ।

टेलिकमले निश्चित समय र कामका लागि आउटसोर्सिङ कम्पनीमार्फत कर्मचारी लिएको र सम्झौता समाप्तिपछि स्वतः जागिरबाट हट्ने उल्लेख गरेको छ । 

”सेवा विस्तार, मर्मत सम्भार लगायतका कम्पनीको सेवा प्रवाह तथा कार्य सञ्चालनका लागि आवश्यकता बमोजिम विभिन्न समयमा विभिन्न सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी निश्चित समय तथा कार्य तोकी आवश्यक सेवा लिने गरेको छ,” टेलिकमले एक विज्ञापन जारी गर्दै भनेकाे छ, ”सो सम्झौताको समयावधि वा तोकिएको कार्यअवधि समाप्तिसँगै उक्त सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।”

विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई प्रतिस्पर्धाका आधारमा अर्को सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमले जनाएको छ ।

”यो अवस्थामा विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्रांगण बाहिर विभिन्न माग राखिरहेको अवस्था छ । हाल विगतको सेवा प्रदायकसँगको दायित्व समाप्त भएको अवस्थामा ती जनशक्तिसँग नेपाल टेलिकमको कुनै सरोकार नरहने अवस्था हुन्छ,” कम्पनीको विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८०


<!–

–>


<!–

PREV POST

अब नेपाली चलचित्रको डबिङ साउथ इण्डियाका ओटीटी एपमा रिलिज गरिने

–>

प्रतिक्रिया

सम्बन्धित खवर