
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी सभापतिको चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । सभापतिका लागि नागेश्वर यादव, बजरंग नेपाली र शुशिल कुमार यादव प्रतिस्पर्धामा थिए ।
जिल्ला अधिवेशनका कुल मतदातासंख्या २ हजार २ सय ७६ रहेको थियो भने २ हजार १ सय ४९ जनाले मत खसालेको थिए ।
पहिलो चरणमा नागेश्वर १०११, बजरंग ३०६ र शुशिल ७७९ मत प्राप्त गरेका छन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । निर्वाचन समितिले मतपत्रको तयारी गरेर शनिबार ११ गतेदेखि मतदान सुरु गर्ने जिल्ला निर्वाचन अधिकृत ईन्द्रबहादुर अधिकारीले जानकारी दिए ।