
जनकपुरधाम । मधेश प्रदेश भ्रमणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तीन दिने भ्रमणमा आएका छन् ।
शनिबार बिहान बुद्ध एयरको जहाजबाट मधेशको राजधानी जनकपुरधाम आइपुगेका उनलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत र सम्मान गरेका छन् ।
मधेश प्रदेशको भ्रमणमा रहेका मुख्यमन्त्री पोखरेलले रेल पनि चढेका छन् । जयनगरबाट खुलेको नेपाली रेल जनकपुर आउँदा दुबै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सरकारी पदाधिकारी रेल चढेर कुर्थासम्म पुगे । कुर्थाबाट पुनः उनीहरु फर्केर जनकपुरधाम आएका छन् ।
रेल चढ्न जनकपुरधाम रेल्वे स्टेशन पुगेका मुख्यमन्त्री पोखरेलले शासन व्यवस्था परिवर्तन भएपनि संघीयतालाई मजबुत बनाउने काम नभएको बताए । संचारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री पोखरेलले संघीयताको ऐना नै प्रदेश रहेको र प्रदेशलाई मजबुत बनाउन नसकिए संघीयता मजबुत बन्न नसक्ने बताएका छन् ।
उनले संघीयतालाई मजबुत बनाउन सातैं प्रदेशका मुख्यमन्त्रीले राष्ट्रियस्तरमा सामूहिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिए । प्रदेशहरु अस्तित्वमा आइसकेपछि अन्तर प्रदेश आदान प्रदान हुनुपर्ने मान्यता अनुसार आफू मधेशमा र मधेशका मुख्यमन्त्री गण्डकीमा पुगेको उनको भनाइ छ । दुबै प्रदेशको विकासमा साझेदारी गर्न पनि भ्रमण प्रभावकारी हुने उनले बताए ।
सोही अवसरमा मुख्यमन्त्री पोखरेलले जनकपुरधाम रेल्वे स्टेशनमा अशोकका विरुवा पनि रोपेका छन् ।