
सप्तरी । नेपाली कांग्रेस सप्तरीको जिल्ला अधिवेशनको शनिबार भइरहेको निर्वाचनमा विवाद उत्पन्न भएपछि मतदान स्थगित भएको छ ।
जिल्लाको रूपनी गाउँपालिका वडा नम्वर ६ स्थित स्वर्गीय गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।
संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।
विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताए ।
केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको बताए । उनले आफूहरूमाथि लगाएको आरोप निराधार रहेको दावी गरे ।
‘निर्वाचन नै अव्यवस्थित भयो’ यादवले भने, ‘अव्यवस्थितकै कारण यस्तो अवस्था आएको हो ।’ सप्तरी कांग्रेसमा २५ सय ६८ मतदाता छन् । स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा निर्वाचन समितिले अर्को सूचना जारी नभएपछि निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत डा रुद्र शर्माले जानकारी दिए ।