
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको निर्वाचनमा विवाद उत्पन्न भएपछि स्थगित भएको छ ।
सोमबार भएको निर्वाचमा दुई पक्षबीचको विवादका कारण निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको भन्दै सुचना जारी गरेका छन् ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ बजे सूचना टाँसेर स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर अहिले कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
मतदानका लागि भन्दै बिहानै जिल्लाभरबाट नेता कार्यकर्ताहरु सदरमुकाम मलंगवा पुगेका थिए । ४ घण्टासम्म तातो घाममा लाइन बसेर मतदान गर्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।