
जनकपुर – पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा आइतबार मध्यरातको एक बजेपछि कांग्रेसका मेयरका उम्मेदवार नितेन्द्र साहको समूह र स्थानीयहरूबीच झडप भएको छ ।
झडपको क्रममा एक जनाको हात भाँचिएको छ । प्रहरीका अनुसार स्थानीय तुलसी पटेलको हात भाँचिएको हो । स्थानीयका अनुसार मेयर साहले चुनाव प्रभावित पार्न पैसा बाँड्न गएको आरोप लगाउँदै विरोध गरेपछि दुई पक्षबीच झडप भएको हो ।
यस क्रममा स्थानीयले निवर्तमान मेयरसमेत रहेका साहमाथि पनि हातपात गरेका थिए । रातको समयमा मेयरका उम्मेदवार साह अन्य २ जना समर्थकसहित विश्रामपुरको भंगी साह उच्च माध्यमिक विद्यालयको मूल गेट नजिकै रहेको नास्ता पसलमा पुगेका थिए ।
नास्ता पसलभित्रै मान्छेहरू बोलाएर भेट्न थालेपछि स्थानीयले होहल्ला गरेका थिए । रातको समयमा मेयरका उम्मेदवार साहलाई गाउँबाट जान भनेपछि विवाद भएको थियो ।
विश्रामपुरका अनुज पटेलका अनुसार साह र उनका सहयोगीले गाउँबाट मान्छे बोलाएर ‘पैसाको डिल’ गरिरहेको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । ‘त्यसपछि साहले नजिकैको शिव टोलबाट आफ्ना थप समर्थक बोलाएका थिए,’ पटेल भन्छन्, ‘त्यसपछि दोहोरो झडप भएको थियो ।’
साहका समर्थकको लाठी प्रहारबाट आफ्नो देब्रे हात भाँचिएको पटेलले बताए । साह र उनका समर्थक चढेका गाडी स्थानीयले तोडफोड गरेका छन् । निवर्तमान मेयर साहमाथि पनि स्थानीयले हातपात गरेको पटेलले जनाए । उक्त झडपको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । साहसँगै गैरसरकारी संस्था समन्वय समिति (एनजीओसीसी) पर्साका अध्यक्ष इब्राहिम देवान, विनोद रौनियार गाडीमा बसेर राति एक बजे विश्रामपुर पुगेका थिए ।
दुई दिनअघि मात्र बहुदरमाई नगरपालिका–२ सिसियाडीमा मेयरका उम्मेदवार साह र वडाध्यक्षका उम्मेदवार जितेन्द्र पटेललाई स्थानीयले घेरा हाली नाराबाजी गरेका थिए । करिब ११ बजे राति गाउँमा आएर पैसाको प्रलोभनमा मतदाता प्रभावित पार्न खोजेको भन्दै सिसियाडी दक्षिण टोलका स्थानीयले साह र पटेललाई घेरा हालेर विरोध गरेका थिए ।
बीआर ०५ पीए ६९२७ नम्बरको भारतीय गाडी चढेर साह सिसियाडी पुगेका थिए । उक्त गाडीमा ‘मिडिया प्रभारी भारतीय जनता पार्टी’ लेखिएको ‘नेम प्लेट’ लगाइएको थियो । प्रत्यक्षदर्शी रन्जीत कुमारका अनुसार सुरक्षाकर्मीको टोली सिसियाडी पुगेर निवर्तमान मेयर र वडाध्यक्षलाई गाउँबाट बाहिर स्कर्टिङ गरेको थियो । ‘गाडीमा पैसा रहेको दाबी गर्दै स्थानीयले खनतलासी गर्न सुरक्षाकर्मीलाई अग्राह गरेका थिए,’ रन्जीतले भने, ‘तर, गाडी जाँच गरिएन।’