काठमाडौं (बीबीसी)। पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहीर करिब पाँच वर्षअघि नेपालबाट रहस्यमय रूपमा बेपत्ता भएका थिए । उनको हालसम्म कुनै पत्ता लागेको छैन । उनी जागिरको अन्तर्वार्ताका लागि नेपाल आएका थिए र आजसम्म उनको बेपत्ताको कथा रहस्यमै छ ।

पाँच वर्षपछि उनको बेपत्ता हुनुको रहस्य बुझ्न हामीले नेपालका खोज पत्रकार, प्रहरी र प्रशासनिक अधिकारीहरूसँग कुरा गर्यौं। ती व्यक्तिहरू त्यतिबेला उच्च पदमा बसिरहेका थिए वा यस विषयमा रिपोर्टिङ गरिरहेका थिए। कर्नेल हबिबले जुन रुट लिएको भनिन्छ, त्यही रुटमा हामीले नेपाल भ्रमण गरेका थियौं ।

पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब जहीर अप्रिल २०१७ मा लाहोरबाट ओमान हुँदै नेपालको राजधानी काठमाडौं पुगेका थिए । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । त्यहाँबाट उनी भारतीय सीमाभन्दा केही किलोमिटर टाढा लुम्बिनी जानुपर्ने थियो । यसका लागि उनी अन्तर्राष्ट्रिय विमानस्थलबाट थोरै पर रहेको स्थानीय विमानस्थल पुगेका थिए ।

लुम्बिनी विमानस्थल भारतीय सिमानाबाट मात्र ५ किलोमिटर टाढा छ । सोही विमानस्थलबाट निस्किएपछि कर्नेल हबिबले आफ्नो परिवारलाई मेसेजमार्फत सम्पर्क गरेका थिए ।

लेफ्टिनेन्ट कर्णेल हबिब बेपत्ता भएको भन्दै नेपालले विशेष अनुसन्धान समितिमार्फत छानबिन गरेको थियो । तर, त्यसको प्रतिवेदन सार्वजनिक भएको छैन ।

त्यसबेला नेपाल प्रहरीका उपप्रमुख नवराज सिलवाल थिए । हाल उनी संसद सदस्य छन् । बीबीसीसँग कुरा गर्दै उनले यो विषय अझै समाधान नभए नयाँ प्यानलमार्फत थप अनुसन्धान गर्नुपर्ने बताए ।

यद्यपी उनले घटनाबारे केही बताउन मानेनन् । उनी भन्छन्, ‘म प्रहरीमा हुँदा कार्यालयको गोपनियताको शपथ लिएर काम गरेँ । अहिले राजनीतिमा आएपछि त्यसबेलाको घटनाबारे बोल्न मिल्दैन ।’

राजन भट्टराई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार थिए । अनुसन्धानबाट कर्णेल हबिब नेपालमा नभएको पत्ता लागेको उनको भनाइ छ ।

उनले बीबीसीलाई भने, ‘सरकारले त्यसबेला छानबिन गर्न प्यानल बनाएको थियो । त्यसले गहिरो छानबिन गर्यो । सरकारको विश्वास थियो कि कर्णेल हबिब नेपालबाटै बेपत्ता भएका थिए तर अहिले उनी नेपालमा छैनन् ।’

पाकिस्तान सरकारले कर्णेल हबिब बेपत्ताको सम्बन्धमा भारततर्फ औंल्याउँदै “शत्रु गुप्तचर एजेन्सीहरूको हात” रहेको आरोप लगाएको थियो।

अर्कोतर्फ यस विषयमा भारतले नेपालबाट पाकिस्तानका पूर्व कर्णेल बेपत्ता भएको कुरा सुनेको तर योभन्दा बढी केही थाहा नभएको बताएको थियो ।

भारतलगायत धेरै देशका गुप्तचर निकाय नेपालमा सक्रिय छन् । मैले नेपाल गृह मन्त्रालयमा सम्पर्क गरें र प्रहरी अधिकारीहरूसँग पनि कुरा गरें तर यस विषयमा कोही बोल्न तयार भएनन्। अधिकारीहरूले यो विषय धेरै पुरानो भएको र यसबारे केही थाहा नभएको बताउँछन् ।

नेपाल दक्षिण एसियाली सहयोग सङ्गठन ‘सार्क’ को सदस्य राष्ट्र हो । भारत र पाकिस्तानसँग उनको राम्रो सम्बन्ध छ । नेपालबाट कर्नेल हबिब बेपत्ता भएकोमा नेपाल सरकारको करिडोरमा खेद व्यक्त गरियो । तर नेपाल यस विषयमा भारत र पाकिस्तानबीचको विवादमा फस्न चाहँदैन ।

कर्णेल हबिब बेपत्ता हुँदा पूर्वप्रहरी अधिकृत हेमन्त मल्ल नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख थिए ।

विभिन्न कारणले नेपाल विदेशी गुप्तचर निकायको गतिविधिको केन्द्र बनेको उनको भनाइ छ । भारतीय जासुसी एजेन्सीको हलचल यहाँ देखिएको उनी बताउँछन् । पाकिस्तान र चीन पनि यहाँ सक्रिय छन्। पश्चिमा मुलुकका आ–आफ्नै प्राथमिकता छन् ।

“नेपाल कहिलेकाहीँ उनीहरूको गतिविधिमा फसेको छ,” उनी भन्छन् ‘कैयौं पटक दुई देशको मामिलामा नेपाल यति फसेको छ कि के गर्ने, कता जाने बुझेको छैन । नेपालका एजेन्सीहरू व्यावसायिक रूपमा दक्ष छैनन्, जसका कारण कहिलेकाहीँ बाहिरका एजेन्सीहरूले यहाँ समस्या सिर्जना गर्छन्।’

कर्नेल हबिब बेपत्ता हुनुमा कुनै न कुनै गुप्तचर निकायको संलग्नता रहेको सामान्य धारणा रहेको छ । यस विषयमा मैले खोज पत्रकार सरोजराज अधिकारीलाई भेटेँ । उनले नेपालमा विदेशी गुप्तचर निकायको गतिविधिबारे दुईवटा पुस्तक लेखेका छन् ।

उनको विचारमा नेपालमा भारतीय गुप्तचर निकायको प्रभाव निकै फराकिलो छ, यहाँ उनीहरुको गहिरो प्रवेश छ । उनी भन्छन्, ‘भारतको विरुद्धमा जानेले न राजनीतिमा प्रगति गर्न सक्छ, न प्रहरी र कर्मचारीतन्त्रमा प्रगति गर्न सक्छ भन्ने यहाँका जनतालाई लाग्छ । प्रशासनको माथिल्लो पदको बारेमा सामान्य बुझाइ छ कि भारतलाई खुसी नराख्ने हो भने त्यहाँ पुग्न सकिँदैन। यहाँ हरेक क्षेत्रमा भारतको प्रभाव र प्रवेश छ ।’

कर्णेल हबिब जहीरले काठमाडौंबाट लुम्बिनीको आन्तरिक उडान गरेका थिए । त्यसको टिकट उनलाई काठमाडौंमा रिसिभ गर्ने व्यक्तिले दिएको हो ।

लुम्बिनी जाने त्यो विमानमा चढ्नुअघि कर्नेल हबिबले जहाज नजिकै आफ्नो फोटो पनि खिचेका थिए । तर त्यो तस्बिर सेल्फी होइन, अर्कै व्यक्तिले खिचेको हो । सायद ती व्यक्ति उनीसँगै काठमाडौंबाट जाँदै थिए । त्यो व्यक्ति यस मामलामा एक धेरै महत्त्वपूर्ण लिङ्क हो।

कर्णेल हबिब जहीरलाई संयुक्त राष्ट्र संघमा जागिरको अन्तर्वार्ताका लागि लुम्बिनी बोलाइएको थियो । यो कुनै प्रकारको जाल जस्तो देखिन्छ।

लुम्बिनी नेपाल र भारतको सीमावर्ती सहर हो। बुद्ध धर्मको शुरुवात गर्ने गौतम बुद्ध यहीं जन्मेका थिए । यहाँ विश्वभरबाट बुद्ध धर्मका अनुयायीसहित ठूलो संख्यामा पर्यटकहरु आउने गर्दछन् ।

गौतम बुद्धका अनुयायीहरु नेपाल र विदेशबाट हजारौं पर्यटक तथा भक्तहरु यहाँ मन्दिर हेर्न आउने गर्दछन् । यो विशेष धार्मिक स्थल हो।

लुम्बिनी विमानस्थल भारतीय सिमानाबाट मात्र ५ किलोमिटर टाढा छ । कर्णेल हबिबले यही विमानस्थलबाट बाहिरिएपछि अन्तिम पटक आफ्नो परिवारलाई मेसेजमार्फत सम्पर्क गरेको बताइएको छ ।

सरोजराज अधिकारीले कर्णेल हबिबलाई भारततर्फ लगिएको बताए । “मलाई लाग्छ कि उनलाई सीमाको दक्षिण (भारत) तर्फ लगिएको हुनुपर्छ,” उनी भन्छन् ‘भारतले यहाँ के गर्छ, त्यसको सुराग छोड्छ, जसले गर्दा यहाँ आफ्नो कति प्रभाव र गहिरो प्रवेश छ भनेर देखाउन सकोस् ।’

उनी भन्छन्, ‘छ-सात वर्ष रोक्नुहोस्। अक्षय कुमारको कुनै फिल्म आउने सम्भावना छ, जसमा कर्नेल हबिबको अपहरणको अपरेसन कसरी चल्यो भन्ने देखाइनेछ ।’

नेपाल सरकारको अनुसन्धान कुनै नतिजामा नपुगेको होला तर एउटा कुरा प्रष्ट छ कि लेफ्टिनेन्ट कर्णेल हबिब जहीर लुम्बिनी विमानस्थल, भारतको सिमाना र लुम्बिनीको बीचमा कतै बेपत्ता भएका छन् ।

तर उनीसँग यात्रा गर्ने व्यक्ति को थियो र उनलाई यहाँ कसले स्वागत गर्ने कुरा थियो? यी प्रश्नमा नेपालका सुरक्षा निकाय मौन छन् । यसरी कर्नेल हबिब बेपत्ता हुनु पाँच वर्षपछि पनि रहस्यमै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर