
काठमाडौं । यसै वर्ष मार्चमा चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना भएको थियो । यो विमान दुर्घटनामा यात्रु र चालक दलका सदस्यसहित १३२ जनाको मृत्यु भएको थियो । विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य थिए।
अब यो विमान दुर्घटनाको बारेमा एक चकित पार्ने दाबी गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार विमानलाई जानाजानी खसालिएको हो । प्रतिवेदनमा उडानको ब्ल्याक बक्सबाट प्राप्त तथ्यांकले विमानलाई जानाजानी खसालेको संकेत गरेको दाबी गरेको छ ।
अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा विमानमा कुनै प्रकारको यान्त्रिक र प्राविधिक गडबडी भएको कुनै संकेत नभेटिएको अनुसन्धानकर्ताले बताएका छन् । यो बोइङ विमान थियो। बोइङ ७३७–८०० विमान दक्षिणी चीनको कुनमिङ सहरबाट ग्वान्झाउ जाँदै गर्दा दुर्घटना भएको हो ।
वाल स्ट्रिट जर्नलका अनुसार विमान ककपिटमा बसेका व्यक्तिबाट निर्देशन पाएको जस्तो गरी अघि बढेको थियो । वाल स्ट्रिट जर्नलले पहिलो दुर्घटनाको रिपोर्ट गरेको थियो।
China Eastern plane crash likely intentional, US reports say https://t.co/al7mO3YTKB
— BBC News (World) (@BBCWorld) May 18, 2022
एबीसी न्यूजले पनि एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उक्त दुर्घटना जानाजानी भएको देखिने दावी गरेको छ । यसअघि चाइना इस्टर्न एयरलाइन्सले विमानमा सवार तीन जना पाइलट पूर्णरुपमा दक्ष र स्वस्थ रहेको बताएको थियो ।
अमेरिकी सञ्चारमाध्यमको यो दाबीपछि बीबीसीले चाइनिज इस्टर्न एयरलाइन्ससँग सम्पर्क गर्ने प्रयास गरे पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । दुर्घटनाको अनुसन्धान गरिरहेको चिनियाँ नागरिक उड्डयन प्रशासन (सीएएसी) ले पनि बीबीसीको दाबीबारे सोधेको प्रश्नको जवाफ दिएको छैन।
चीनमा सबैभन्दा भयानक विमान दुर्घटना सन् १९९४ मा भएको थियो । सन् १९९४ मा सियानबाट ग्वान्झाउ जाँदै गरेको चाइना नर्थवेस्ट एयरलाइन्सको टुपोलेभ टु–१५४ विमान उड्ने क्रममा दुर्घटनामा परेको थियो । यसमा १६० जनाको मृत्यु भएको थियो। यो चीनको सबैभन्दा खराब विमान दुर्घटना मध्ये एक हो।