
काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री भइसकेको मानिस मेयर बन्न जति पनि हुने बताएका छन्।
एक जना ट्विटर प्रयोगकर्ताले डा. भट्टराईलाई काठमाडौंको मेयर बनाउन पाए विकास हुन्थ्यो होला भनेर लेखेपछि जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष उनले सकारात्मक जवाफ दिएका हुन्।
‘सम्झना’ नामको ट्विटर ह्यान्डल प्रयोगकर्ताले लेखेकी छन्, ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला? कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुरामजस्ता आँट भएको मान्छे नआई बन्दै बन्दैन।’
जवाफमा भट्टराईले लेखेका छन्, ‘प्रम भएको मान्छेले मेयर बन्न गज्जबले मिल्छ। फ्रान्सका पूर्वप्रम Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन्। सधैं साथीहरुलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन, आफ्नो पालिकाको प्रमुख/मेयर बन्नोस्। कसैले सुने पो! हाम्रो संस्कार जो छ।’