
बारा । बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही व्यक्तिहरूले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीले नाराबाजीसहित विरोध गरेका छन् । कोल्हवी नगरपालिका–१ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन ।
सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरूले मदिरा सेवन गरेको विद्यार्थीले बताएका छन् ।
बिदाइ कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरूले आरोप लगाएका छन् ।
घटनाको विषयमा विद्यार्थीहरूले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरूलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन । बिदाइ कार्यक्रम सकिएपछि आफूहरू घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजयकुमार साहले बताए ।
शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उनले बताए । उनले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताए । तर, यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहका छैनन् । –फरकधार