
वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीबाट पाल्म तेलसहितको ट्रक बरामद गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका-१ कोशी ब्यारेजस्थित सडकबाट ट्रक बरामद गरेको हो ।
युपी ७५ एम ३६९५ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा भन्सार राजश्व नतिरेको ५४ लाख ९६ हजार रुपैयाँको १५ सय टिन पाल्म तेल बरामद भएको सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।
‘ विराटनगरको रानी भन्सार हुँदै नेपाल प्रवेश गरेको ट्रक बिना ईन्ट्री कोशी ब्यारेज आइपुगेको रहेछ, चेकजाँचका क्रममा भन्सार जाँचपासको कागजपत्र समेत नभएको देखियो ।’ उनले भने ‘ त्यसैले बरामद गरेर आवश्यक कारबाहीका लागि कुनौली भन्सार सप्तरीमा पठाएका छौं ।’
सशस्त्र प्रहरीले ट्रक चालक भारत कानपुरका ३० वर्षिय अबध बाबु र सहचालक २३ वर्षीय धिरज कुमारलाई पनि पक्राउ गरेको छ ।
बरामद रिफाइन्ड पाल्मोलियन आयलको ५४ लाख ९६ हजार र ट्रकको ५५ लाख गरि कुल १ करोड ९ लाख ९६ हजार मुल्यांकन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।