सर्लाही।

सर्लाहीमा भाई–भाईबीच विवाद हुँदा साथीसँग मिलेर आफ्नै दाईको हत्या घरेको घटना बाहिरीएको छ । प्रहरीले दाइको हत्या गरेको आरोपमा सहोदर भाइसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा मृतकका सहोदर भाइ करिब २०–२१ वर्षीय अमरकान्त ठाकुर र रुपेशकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार बिहान सर्लाहीको कबिलासी नगरपालिका–८ अर्गवा स्थित अर्गवा चौकबाट पश्चिम सलेमपुर नहर जाने कच्ची सडकको नजिकमा रहेको कुलोमा स्थानीय २४ वर्षीय अमरेन्द्र ठाकुरको शव फेला परेको थियो। सो घटनामा सर्लाही प्रहरीले मृतकका सहोदर भाइ करिब २०–२१ वर्षीय अमरकान्त ठाकुर र रुपेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान करिब सावा ६ बजे कविलासी–८ स्थित स्थानीय युवा अमरेन्द्रको घाँटी धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको थियो।

यस घटनाको अनुसन्धानका क्रममा नेपाल प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलको अवलोकन, घटनास्थल वरपरका स्थानीय मानिस तथा घटनासम्बन्धी देख्नेसँग सोधपुछ सुनी बुझी प्रविधियुक्त विश्लेषण गर्दा घटनामा मृतकको सहोदर भाइकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

मृतकका भाइ र भाइको साथीलाई नियन्त्रणमा लिएर सोधपुछ तथा थप अनुसन्धान गर्दा घटनाभन्दा एकदिन पूर्व अमरेन्द्र र अमरकान्तबीच वाद–विवाद भएको खुलेको हो।

वादविवादपछि अमरकान्तले आफ्नो साथी रुपेशसँग मिलेर दाइलाई मार्नुपर्छ भनी योजना बनाई राति करिब ८ बजे अमरेन्द्रलाई खानपिनको व्यवस्था छ भनी टेलिफोनमार्फत बोलाएर हत्या गरेको अनुसन्धानमा खुलेको प्रवक्ता बुढाथोकीले बताए।

अमरेन्द्र घटनास्थलमा आएपश्चात् एक्कासि धारिलो हतियार र ढुंगासमेतले शरीरको विभिन्न भागमा प्रहार गरी भुइँमा लडाइँ घाँटीमा प्रहार गरी हत्या गरेर शव सडकदेखि उत्तरतर्फ सुख्खा कुलोमा फालेको अनुसन्धानबाट खुलेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर