
जनकपुरधाम : मधेश प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दुई वटा शाखामा शित भण्डार निर्माणको भूक्तानीको माग गर्दै किसानहरुले तालावन्दी गरेको छ ।
शीतभण्डार निर्माणको रकम भुक्तानी गर्न माग गर्दै लेखा शाखा तथा खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखामा तालाबन्दी गरेर किसानहरु धर्नामा बसेका छन् । विभिन्न ५ वटा माग राखेर किसानहरु आन्दोलनमा उतरिएका हुन् ।
उनीहरुले शीतभण्डार निर्माणमा लागेको खर्चको भुक्तानी अबिलम्ब गर्नुपर्ने, किसानलाई समयमै पर्याप्त मलखाद्य उपलब्ध गराउनु पर्ने, बीउ बिजन उपलब्ध गराउनु पर्ने, प्रदेशको कृषि मन्त्रालय अन्तर्गत सञ्चालन हुने अनुदान, सेवासुविधा र विभिन्न योजनामा एकरूपता कायम गरी किसानको हकहित सुनिश्चित गर्नुपर्ने, शीतभण्डारको बाँकी कार्य अगाडी बढाउनु पर्ने माग गरेका छन् ।
त्यस्तै, कृषि उपजमा प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिमा सहयोग उपलब्ध गराउन समेत किसानहरुले सरकारसंग माग गरेका छन् ।
पटक पटक भुक्तानीका लागि निवेदन दिंदा पनि आलटाल गरेकाले बाध्य भएर आन्दोलनमा उतरिनु परेको किसान शेषनारायण यादवले बताए ।
शित भण्डार निर्माण कार्यको ३ वर्ष हुनै लाग्दा समेत मन्त्रालयले भुक्तानि नदिँदा आफू लगायतका किसानहरु मारमा परेको उनले बताए । यादव जसपाको मधेश प्रदेशका उपाध्यक्ष समेत हुन् ।
शीतभण्डार निर्माणमा अनियमितता भएको भन्दै आलोचना हुन थालेपछि मन्त्रालयले रकम निकासा रोकेको थियो । मन्त्रालयले रकम दिन आनाकानी गरेपछि किसानहरु अदालतसम्म पुगेका थिए ।
शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ ।
यता कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले रकम भुक्तानी नियम कानून पुर्याएर हुने प्रतिवद्धता व्यक्त गरिन् ।