
सप्तरी । आगामी बैशाख ३० गते निर्धारण गरिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना प्रकृया आज (सोमबार) दोस्रो दिन आवेदन दिनहरुको निकै भिड लगेको छ ।
आइतबारदेखि म्यादी प्रहरी भर्नाका निम्ति आवेदन दिन शुरु भएको छ । सप्तरीमा पहिलो दिन नै आवेदनकर्ताको उल्लेख्य भींड रह्यो । प्रहरीले भींड लाग्ने भनेरै आवेदन दिने स्थान राजविराजस्थित राज रंगशालालाई तोकेको थियो ।
सोमबार पनि बिहानैदेखि राज रंगशालामा आवेदन दिन आउनेको घुइँचो रह्यो । जिल्ला प्रहरी कार्यालयका अनुसार पहिलो दिन नै २ हजार भन्दा बढीले आवेदन फारम लिएका छन् । यद्यपी ६ सय जतिको दर्ता भएको छ ।
जिल्ला प्रहरीका सप्तरीका प्रमुख एसपी अविनारायण काफ्लेले जिल्लामा ३ हजार १ सय ३९ म्यादी प्रहरी भर्ना गरिनेछ ।
पहिलो दिन नै २ हजार भन्दा बढी आवेदन फारम बितरण भएपछि जिल्लामा आवेदनकर्ताको संख्या बढी हुन सक्ने आँकलन गरिएको छ । यस पटक १८ बर्ष पूरा गरी ५४ बर्षसम्मका व्यक्तिलाई म्यादी प्रहरी बन्न मौका दिइएको छ । अधिकतम ४० दिन काम गरे ४५ हजारसम्म पाउने लोभमा आवेदन दिनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
आइतबारदेखि चैत ११ गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । आवेदनकर्ताको नतिजा चैत २२ गते सार्वजनिक गरी चैत २८ देखी प्रशिक्षण शुरु गर्ने जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।
म्यादी प्रहरी बन्नका निम्ति नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य भएको हुन नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने सहितका मापदण्ड निर्धारण गरिएको छ ।
तस्विर : रमानन्द देव