काठमाडौँ — धनुषाको सपहीमा बिताएको बाल्यकाल सम्झिँदा पूर्वराष्ट्रपति रामवरण यादव ‘नोस्टाल्जिक’ हुन्छन् । गाउँको पूर्वबाट बग्ने नदीमा वर्षैभरि पानी हुन्थ्यो । स्थानीय बासिन्दा बाह्रैमास खोलामा हुन्थे । माछा, गंगटो, घोंगी मारेर खान्थे । खेती गर्न पानीको दुःख थिएन । तर ती दिनहरू अब सम्झनामा मात्रै रहे । अहिले पूर्वतिर बग्ने नदीमा वर्षामा बाढी आउँछ र अरूबेला सुक्खै रहन्छ । पानीको दुःखमा किसानहरू पर्न थालिसके । उनले सुनाए, त्यो बालापन अब कहाँ पाउनु ?

मधेसको पर्यावरणको चक्रमा देखा परेको परिवर्तन बुझ्न धेरै परसम्म जानै पर्दैन । पूर्वराष्ट्रपति यादवले ३० वर्षअघि जनकपुरको ब्रह्मपुरीस्थित घरमा १ सय ५० फिटमा ट्युबवेल जडान गराएका थिए । पानी आउन बन्द भएपछि ३ वर्षअघि फेर्न लगाए । तर यसपाला ४ सय ५० फिट तल मात्रै पानी भेटियो । कारण स्पष्ट थियो, पानीको सतह झन्झन् मुनि जाँदै छ । पानीको सतह गहिरिँदै गरेको समस्या ब्रह्मपुरीको एक्लो होइन । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, रौतहट, सर्लाही, बारा, पर्सा जिल्लामा पनि यस्तो समस्या छ । पानी किन तलतल जाँदै छ भन्नेमा मगज खियाउने फुर्सद सर्वसाधारणलाई छैन, प्राविधिकले भनेअनुसार पाइप व्यवस्था गरेर गहिरो गाड्दै खानेपानी पाए पुगेको छ ।

केही वर्षअघिसम्म ७५ देखि ८० फिट गहिरो स्यालो ट्युबवेल तथा इनारबाट टन्नै पानी आउने उत्तरी–पूर्वी धनुषाको गणेशमान–चारनाथ नगरपालिकाको रातमाटे, तीनतले, वीरेन्द्रबजार लगायतका चुरेछेउका बस्तीमा अहिले ३ देखि ४ सय फिट गहिरो बोरिङ गरेपछि सतह भेटिन्छ । चुरे पर्वत शृंखलाको फेदमा पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरस्थित बटेश्वर, ढल्केवर, जमुनीबास, वेंगाडावर, तुलसी, लालगढ, भरतपुर लगायतका बस्तीमा खानेपानीको अभाव चुलिन थालिसकेको छ ।

१ सय ५० देखि २ सय फिटमा ‘अटोमेटिक बोरिङ’ हुने तथा ५० देखि ६० फिटमुनिबाट सजिलै पानी निस्कने मध्य–धनुषाको ललिया, हंसपुर, बघचौडा, निकाल, कुम्हराटोललगायत गाउँमा पनि गर्मीयाममा हातेकलबाट पानी आउँदैन । उपभोक्ता ४ सय फिटसम्म हातेकल गाड्न बाध्य छन् । पानीको सतह भासिँदै गएका छन् । ट्युबवेलका लागि गहिरो बोरिङ गर्दा लागत पनि चर्को परिरहेको छ । पहिले ३० हजारमा जडान हुने हातेकल राख्न एकदेखि डेढ लाख खर्चिनुपर्छ ।

गणेशमान–चारनाथका सूर्यकुमार यादवका अनुसार पहिले करिब ८० फिट खनेपछि इनारमा मनग्य पानी आउँथ्यो । अचेल ४ सय फिट नखनी पानी भेटिँदैन । ‘चुरे फेदका तीनतले र रातमाटेबाट निस्कने चारनाथ नदी छेउछाउ पहिले पानीका लागि धेरै गहिरो बोरिङ गर्नु पर्दैनथ्यो । अचेल पानी पाउनै गाह्रो भयो,’ उनले भने ।

बिस्तारै चुरे फेदीका बासिन्दा मात्रै नभई सिंगो धनुषावासी नै काकाकुल हुने अवस्था नआउला भन्न नसकिने उनी बताउँछन् । जनकपुरधाम उपमहानगरमा १० वर्षअघिसम्म पानी छेलोखेलो थियो । पछिल्ला केही वर्षयता गर्मी मौसममा खानेपानीको समस्या सुरु हुन थालिसकेको छ । एक दशकयता धनुषामा सतहमुनिको सञ्चित जलभण्डार १० देखि ५० मिटर तल झरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरको तथ्यांकले देखाउँछ । उत्तरी धनुषाको जमुनीवासमा सात वर्षभित्र पानीको सतह ५० मिटर तल झरेको तथ्यांक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको छ ।

बटेश्वर गाउँपालिका–४ मा जडान गरिएका झन्डै २ सय हातेकल तथा इनारमध्ये अधिकांशबाट गतवर्ष पानी आउन छाडेको थियो । स्थानीयवासीका अनुसार गाउँ नजिकबाट बग्ने औरही र विगहीलगायतका नदी सुक्खा भएपछि गाउँका हातेकल र इनार सुक्ने गरेका छन् । बटेश्वरको शान्तिपुरका ६२ वर्षीय बेचन कापरले भने, ‘२० वर्षअघिसम्म बिगही र औरहीमा बाह्रै महिना पानी बग्थ्यो । मेरै गाउँ शान्तिपुरमा विगही नदीको पानी आउँथ्यो । खेत सिँचाइ गर्न कुलो भए पुग्थ्यो । अचेल नदी नै सुक्खा भएपछि गाउँमा पानी आउने कुरै भएन ।’

चुरे क्षेत्रका वन जथाभावी फँडानी र बालुवा–गिट्टीको अवैज्ञानिक दोहनको कारण जल सतह निरन्तर भासिँदै गएको छ । जसको असर स्थानीय कृषि प्रणालीमा सोझै परिरहेको छ । जस्तो कि धनुषाको मिथिला–५ श्रीपुरका जीवछ महतो पूर्वपश्चिम राजमार्गभन्दा उत्तरतर्फ धान उब्जाउने खेतमा उखु रोप्न थालेका छन् । उनले चुरेको फेदीको औरही खोलाबाट कुलो ल्याउँथे । धानका लागि खेतमा ल्याउन पानी पर्याप्त हुन छाडेपछि उनले उखु लगाउन सुरु गरेका हुन् । ‘चुरेको फेदमै पानीका मुहान सुके, कुलोमा पानी आउन छाडेपछि धानको विकल्प खोजेको हो,’ महतोले भने, ‘पानीको सतह पहिलेभन्दा निकै नै तल गएको छ ।’

उनका अनुसार १० वर्षअघिसम्म इनारमा बाल्टीले सजिलै निकाल्न सकिने पानी अहिले निकै तल गइसक्यो । मोटर नजोडी पानी झिक्न सकिँदैन । इनारमा पनि चैत–वैशाखमा त पानी नै हुँदैन । पानीको सतह गहिरिँदै गरेको धनुषाका धेरै किसानहरूको साझा अनुभव हो ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको कार्यक्रम कार्यान्वयन इकाइ जनकपुरधामका अनुसार चुरेको पहाडी क्षेत्रमा पानी पुनर्भरण हुन नसक्दा मधेसमा मुहान सुकेको हो । जसको असर मधेसका जिल्लामा कल, इनार र नदीमा परेको छ । इकाइका प्रमुख महेश ढुंगाना राजमार्गभन्दा दक्षिण क्षेत्रका नदीमा मापदण्डविपरीत भइरहेका उत्खनन र चुरे दोहनको सोझो असर पानीको सतहमा पर्न थालेको बताउँछन् । ‘मधेसमा पानीको सतह तल गएको छ । चुरेबाट आउने बाढीले उब्जाउ माटो पनि बालुवाले ढाकिन्छ, यसले कृषि उत्पादनमा सोझो असर पर्न थालेको हो,’ उनले भने ।

भूमिगत सतहको जलभण्डार उकास्न चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्ने सिँचाइविज्ञ रत्नेश्वरलाल कर्णको छ । चुरेसहित तराई–मधेसमा सतहमुनिको पानीको जलस्तर उकास्न चुरेका वन क्षेत्रमा भइरहेको फँडानी रोक्नुपर्ने, वृक्षरोपण गर्नुपर्ने, नदीमा बाँध बाँधेर पानी संरक्षण गर्नुपर्ने र गिट्टी–बालुवा नदीजन्य पदार्थको जथाभावी दोहन रोकेर वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सुझाव उनी दिन्छन् ।

संरक्षणका चर्का कुरा उठ्दै आए पनि चुरे अतिक्रमण बर्सेनि बढेको छ । अव्यवस्थित बसोबासका लागि जग्गा अतिक्रमण, नदीखोलाजन्य पदार्थको जथाभावी उत्खनन र वन विनाशले पहाड त खोक्रो पारेकै छ, फेदीका तराईका जिल्लालाई मरुभूमीकरणको बाटोमा लगेको छ । रौतहटको धन्सार, लमाह र लालबकैया नदीमा हिउँदमा बालुवा मात्रै हुन्छ । दशकअघि बाह्रैमास पानी हुने नदीमा पछिल्ला वर्ष हिउँदमा सुक्खा लाग्छ, वर्षामा भीषण बाढी आउँछ ।

यस्तै समस्या बाराको दुधौरा, पसाहा, बकैया, चाँदी, पौराई नदीमा पनि छ । चुरेको शिरमा वर्षा भयो भने मात्र नदीमा भेल बग्छ । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत रामप्रसाद साह चुरे क्षेत्रमा बढेको अतिक्रमणको प्रतिकूल विस्तारै विस्तारै देखापर्न थालेको बताउँछन् । स्थानीय तहले पर्यावरणीय संवेदनशीलता ख्यालै नगरी नदीजन्य स्रोतको उत्खनन गर्न जथाभावी ठेक्का लगाउनाले पनि चुरेको पर्यावरणीय प्रणाली बिथोलिएको उनले बताए ।

संघ सरकारले राजमार्ग उत्तरी क्षेत्रमा नदीजन्य वस्तुको ठेक्का लगाउन रोक लगाए पनि चन्द्रपुर नगरपालिकाले बलमिचाइँ गर्दै वाग्मती र चाँदी नदीमा तीनवटा ठेक्का लगाउँदै आएको छ । असार मसान्तमा ती ठेक्का समयावधि सकिए पनि साउनबाट फेरि त्यहाँ उत्खनन हुने सम्भावना देखिन्छ ।

सिरहाको गोलबजार–१० चन्द्रोदयपुरका शुक्रबहादुर मगरले देख्तादेख्तै घर छेउको घुर्मी खोलाले बाटो बदलियो । चुरे क्षेत्रतिर जथाभावी खोला उत्खनन बढेपछि खोलाले बाटो बदलेको उनको बुझाइ छ । उनले घर अगाडिको खोला देखाउँदै भने, ‘ऊ परसम्म मेरो खेत थियो, खोलाले निलिसक्यो ।’ घुर्मी खोला बस्तीतर्फ हान्निदा मगर, तामाङ र दलित समुदायको बसोबास रहेको चन्द्रोदयपुर टोलका ७० घरधुरी जोखिममा छन् ।

‘चुरे फेदमा रहेको यो बस्ती कसले जोगाइदिने हो ?,’ स्थानीय पदमबहादुर सुनुवारले भने, ‘स्थानीय सरकार आएपछि हाम्रो पीडामा मलम लगाइदिन्छ भनेको त उल्टो पो भयो ।’ उनका अनुसार स्थानीय सरकार आएपछि दोहन झनै तीव्र पार्‍यो जसले गर्दा आँगनको खोलो घरै पस्यो । स्थानीय निकायले पनि चुरे क्षेत्रको दोहनमा ध्यान नदिएको उनीहरूको साझा आरोप छ । जथाभावी खानीजन्य पदार्थ उत्खनन गरिँदा पानीको मूल सुकेको अनुभव छ सिरहाको धनगढीमाई–८ महुलियाका बासिन्दाको ।

सिरहाको उत्तरी क्षेत्रका बरदमार, गोविन्दपुरलगायत तीन दर्जन गाउँ पानीका लागि संकटग्रस्त हुन् । हिउँदमा उनीहरू तीन किलोमिटर परको घिरहरी खोला धाएर पानी ल्याउन बाध्य छन् । स्थानीय गोपाल थापा मगरले हिउँदका चार महिना बिहान ९ बजेसम्म पानी ओसार्दैमा जाने गरेको अनुभव सुनाए । ‘पानीको दुःखले हाम्रो दुःख झनै दोब्बर बन्दै गएको छ,’ उनले भने ।

सिरहाको उत्तरवर्ती क्षेत्रमा मात्रै होइन बिस्तारै दक्षिणवर्ती क्षेत्र भगवानपुर, खाडी, सुखवानन्कारपट्टिमा समेत खानेपानीको यस्तै समस्या सुरु हुन थालिसकेको छ । पाँच वर्षअघिसम्म ट्युबवेल जडान गर्दा ४० फिट गहिराइमा भेटिने पानीको सतह अहिले १ सय २० फिटपछि मात्रै पाइन्छ । सुखवानन्कारपट्टिका सरोज यादव पानीको दुःख सुरु यसरी सुरु होला भन्ने अनुमानसम्म नभएको बताउँछ्न् । उनले भने, ‘चुरेको दोहन नरोकिने हो भने त हामी पानीको प्याक प्याक भएरै मर्छौं ।’
– श्यामसुन्दर शशि, सन्तोष सिंह (जनकपुर), शिव पुरी (रौतहट) र भरत जर्घामगर (सिरहा) | – कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर