
गौशाला । महोत्तरीको रामगोपालपुरबाट चोरीको मोटरसाईकल सहित एकजनालाई प्रहरीले पक्राउ परेको छ ।
गोप्य सुचनाको आधारमा रामगोपालपुर नगरपालिका ५ स्थित विशम्भरपुर जाने बाटोमा पर्ने मन्दिरबाट भारतबाट चोरेर ल्याएको दुई थान मोटरसाईकल सहित एकजना चोरलाई प्रहरीले समातेको हो ।
मोटरसाईकल चोरेर ल्याएर मन्दिरकै छेउमा रहेको झाडीमा लुकाएको अवस्थामा राखिएको गोप्य सुचना पाएपछि चोर समात्न गएको प्रहरीलाई देखेर एक चोर भागेको र अर्को सोहि ठाउ स्थित पोखरीमा हाम फालेकोमा प्रहरीले आधा घन्टा लगाई पोखरीको चारैतिर घेरा हालेर चोर समातेको हो ।
सोहि ठाउ वस्ने पटके चोर लक्ष्मी मण्डल प्रहरीलाई देखेर पोखरीमा हामफालेकोमा प्रहरीले उनलाई समातेको थियो । चोर सहित समातिएको मोटरसाईकल नं. बिआर ३०यु २४२ र अर्को अनटेस्ट रहेकोमा चोर सहित चोरेर ल्याइएको मोटरसाईकल आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको रामगोपालपुर प्रहरी चौकी ईन्चार्ज वरिष्ट सई आदित्य सिंहले बताए । उनले पक्राउ परेका मण्डल पहिले पनि मोटरसाईकल चोरीकै मुद्दामा थुनामा रहेकोमा भरखरै धरौटीमा छुटेर आएको बताए ।
यता रामगोपलपुर प्रहरीले गत सातामात्र थप एक चोरलाई मोटरसाईकल चोर्दै गरेको अवस्थामा रामगोपालपुर नगरपालिका अगाडी जलेश्वर बर्दिवास सडकबाटै समातेको थियो ।
गत २१ गते प्रहरीले मोटरसाईकलको लक तोडिसकेको अवस्थामा रामगोपालपुर ९ अगलेसरा वस्ने २३ वर्षिय जंग वहादुर ठाकुरलाई नियन्त्रणमा लिएका थिए । ठाकुर समेत पटके चोर रहेको र एक दिन पुर्वमात्र धरौटीमा छुटेर आएका थिए ।