बर्दिबास नगरपालिका–२, बुद्ध चोकस्थित श्री जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले नयाँ विद्यार्थी स्वागत कार्यक्रमको अवसर पारी वि.सं. २०८२ साल पुष ४ गते शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। क्याम्पसको व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा अध्ययनरत दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरूले आफ्नै खर्च कटौती गरी संकलित रकमबाट समाजसेवाको भावना अनुरूप नजिकैको विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। सामग्री संकलनका लागि क्याम्पसका शिक्षकज्यूहरू तथा विद्यालय परिवारको समेत सहयोग रहेको थियो।कार्यक्रम बर्दिबास जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री सीताराम खड्काज्यूको नेतृत्वमा सम्पन्न भएको थियो।

श्री जनजागृति आधारभूत विद्यालयका प्राचार्य श्री अम्बिका प्रसाद दाहालज्यूले विभिन्न संघ–संस्थाबाट यस्ता सहयोग कार्यक्रम भए तापनि आफ्नै विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेको यो पहिलो अवसर भएको उल्लेख गर्दै यसले अन्य विद्यार्थीहरूलाई पनि सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रम संयोजक गंगा साहले साना भाइबहिनीहरूले नयाँ कापी र कलम प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसीले सबैको मन छोएको बताउँदै, फजुल खर्च घटाई यस्ता सामाजिक कार्यमा विद्यार्थीहरूलाई सहभागी गराउन सके समाजमा सकारात्मक संस्कारको विकास हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।

यस प्रकारको प्रेरणादायी पहलले विद्यार्थीहरूमा समाजप्रतिको उत्तरदायित्व बोध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।





You must be logged in to post a comment.